काठमाडौं, १८ पुस । एकाध महिनाको फरकमा मूलुकमा तीन ठुला दल र आफुलाई बैकल्पीक शक्तिको रुपमा प्रस्तुत गदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन गरेका छन् । मूलत २०४७ र २०६२/६३ देखि राष्ट्रिय राजनीतिमा हालिमुहाली गरिरहेका कांग्रेस, एमाले र माओवादीमा परिवर्तनकामी कार्यकर्ताले नेतृत्व परिर्वतन गर्न चाहेका थिए तर नेतृत्व स्वयमले परिर्वतन चाहेन वा कार्यकताले सकेनन् त्यो रहस्यको गर्भमै छ । यसले तीन दशक यताको पुरातनपन्थी नेतृत्वको सोच र शैलीले आगामी ४/५ वर्ष सम्म अझै निरन्तता पाउने देखिएको छ ।
४ पटक समय सार्दै भर्खरै १४औं महाधिवेशन सकाएको नेपाली कांग्रेसले शेरबहादुर देउवाको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन समेत गरिसकेको छ । त्यो महाधिवेशनमा सभापति देउवाले कुनै प्रश्नको समाना गर्नु परेन, जवाफ दिनु परेन । आलोचनाको त कुरै छाडौं । देउवाले न त कुनै कार्यकर्ताको वैचारिक प्रश्न सुन्नुप¥यो, न त्यसको जवाफ दिनुप¥यो । न कांग्रेस नेतृत्वको कार्यशैलीबारे नै कुनै प्रश्न उठ्यो । मंसिर २४ गते कांग्रेस महाधिवेशन उद्घाटन भयो ।
उद्घाटन कार्यक्रमपछि बन्द सत्रमा तत्कालीन महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको दुई पन्ने सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवको छोटो आर्थिक प्रतिवेदन पेस भयो । त्यसमा कसैको चासो थिएन, कुनै बहस भएन । कांग्रेसले सुरूमै यसपालि वैचारिक बहसका लागि छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसपछि त सबैलाई टन्टै साफ । तर पार्टी भित्र सभापति पदको लागि आधा दर्जन भन्दा बढी नेताले दाबी गरेपछि चुनावी प्रतिस्पर्धा भने रोमान्चक बन्यो । सभापति देउवा इतर समुहमा सहमती नबन्दा अन्तिम अवस्थामा चित्त दुखाउँदै नेता रामचन्द्र पौडेल सभापति पदको रेसबाट आफुलाई अलग राखे ।
पहिलो चरणमा सभापति देउवा, शेखर कोइराला, विमन्द्र निधी र प्रकाशमानबीच प्रतिस्पर्धा हुँदा दोश्रो चरणमा भने देउवा र शेखरबीच प्रतिस्पर्धा भएको थियो । जसमा यस अभि प्रतिस्पर्धामा रहेका निधी र सिंहले सभापति दुेउवालाई समर्थन गर्दा दोश्रो चरणमा देउवा सजिलै जित हात पारेका थिए । तर काँग्रेस भित्र पदाधिकारीमा गगन थापा, विश्वप्रकाश शर्मा जस्ता चर्चित युवाहरुको आगमनले काँग्रेसी जनमा उत्साह भने थपियो । यता, चुनावी प्रतिस्पर्धाको बेला शेखर कोइरालाले आफनै नेता रामचन्द्र पौडेल, बहिनी सुजाता कोइराला र भाइ डा. शशांक कोइरालाको विश्वास र साथ पाउन सकेनन । तर, देशभरीको काँग्रेस महाधिवेसन प्रतिनिधीको भरपुर साथ पाए जुन अगामी दिनमा काँग्रेस भित्र नयाँ जोशको रक्तसन्चार गरेको काँग्रेसीजनको बुझाई छ । त्योभन्दा अघि मंसिर १० गतेबाट नेकपा (एमाले)को १० औ महाधिवेशन भएको थियो । त्यो महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध प्रश्न गर्ने कसैलाई ठाँउ नै दिइएन । नेतृत्वमा आफूलाई चुनौती दिएका भीम रावल, आफ्नो घोषणालाई चुनौती दिएर उपाध्यक्ष उमेदवार बनेका घनश्याम भुसाल, सचिवका उम्मेदवार बनेका टंक कार्कीलगायतलाई मत नदिन ओलीले उर्दी नै जारी गरे । जतासुकै ओलीको महिमागान बाहेक अरू विषय निषेधजस्तै थियो । पहिले नै विधान महाधिवेशन सम्पन्न गरेकाले पनि एमालेमा बहस र प्रश्न पन्छाउन सजिलो भयो ।
एमालेले असोजमा विधान महाधिवेशन गरेको थियो। असोज १५ देखि १७ गतेसम्म गोदावरीमा भएको प्रथम विधान महाधिवेशनमा पनि पार्टी अध्यक्ष ओलीले फरक मतलाई निषेध गरका थिए । यस अर्थमा एमालेको विधान महाधिवेशन र दसौं महाधिवेशन ओलीमय बन्यो । उनको आलोचना गर्नेका लागि ठाँउ भएन । एमाले फुटको सिकार भएको अवस्थामा आयोजना भएको एमाले महाधिवेसनमाथि सबैको ध्यान केन्द्रित गरेको थियो । महाधिवेसनको उद्घाटनसत्र चितवनको नारायणी नदीको किनारमा व्यापक जनपचिालन गरी जनताबीच एमालेभित्र फुटको असर खासै नरहेको सन्देश दिन भने एमाले सफल भयो । तर, पार्टी अध्यक्ष ओलीको सर्वमान्य नेताहुने बाटोमा अवरोध खडा गरेका अर्का नेता डा भिम रावलले चुनावी प्रतिस्पर्धामा हारे पनि पार्टीभित्रको लोकतन्त्रीक प्रतिस्पर्धालाई जिवित राख्न सफल भए । केहि दिन अघिमात्र राप्रपा नेपालको राष्ट्रिय महाधिवेसन सम्पन्न भएको छ । अन्य दलमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको सबाल केवल बहसको बिषय बनी रहँदा यता राप्रपामा भने लामो समय देखि नेतृत्वमा सम्हालेका नेपाल राजनीतिका चतुर खेलाडी कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङदेन नेतृत्वमा कब्जा जमाउन सफल भए ।
राप्रपाको राजनीतिक मुद्दा पुरानै भएता पनि नेतृत्व परिवर्तनले थोरै भए पनि उत्साह थपिएको छ । देशको राजनीतिक अग्रगमन तर्फ निरन्तर अगाडि बढी रहँदा राप्रपा भने अझै सनाता हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको मुद्दा बोकी देशको राजनीतिमा हिस्सा खोजी रहेका छन् । राप्रपाको मुद्दा जनताले कति पत्याउने आउँदो तीन तहको अगामी निर्वाचनबाट नव निर्वाचित अध्यक्ष लिङदेनको परिक्षण हुनेछ । राप्रपाको सम्पन्न महाधिवेसनमा नेतृत्व परिवर्तन नै प्रमुख मुद्दा बनेकोे थियो । तर, राप्रपाले बोक्ने मुद्दालाई पुनः फरक शैलीमा जनता माझ कसरी स्थापित गराउने चुनौती भने कायमै छ । यस अर्थमा प्रज्ञा भवनमा जारी नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको दृश्य केही फरक छ । यो महाधिवेशनमा पार्टीले प्रचण्डलाई केन्द्रमा राखेको छ। जतासुकै प्रचण्डका पूर्ण कदका पोष्टर र ुकट(आउटु छन्। यहाँसम्म कि महाधिवेशनको लोगोमा समेत प्रचण्डकै फोटो छ ।माओवादी कार्यकर्ताहरूले प्रचण्डमाथि भने यो महाधिवेशनमा कडा प्रश्न र आलोचना गरेका छन्। उनले ल्याएको प्रतिवेदनदेखि प्रचण्डको निजी जीवनशैली प्रश्न उठाएका छन्। यहाँसम्म कि उनी ठेकेदारको घरमा बसेको कुराको सम्म नेता(कार्यकर्ताले खुलेर आलोचना गरेका छन्।
प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि उनीहरूले व्यापक मात्रामा प्रश्न गरेका छन्। प्रचण्डसँगै माओवादी नेतृत्वको कार्यशैली र विलासी जीवनको डटेर आलोचना गरेका छन्, सुध्रिनका लागि भनेका छन्। केन्द्रीय सदस्य राम कार्की र लेखनाथ न्यौपानलेत आलोचना सहितको फरक मत नै दर्ता गराएका छन्। नेकपा माओवादी केन्द्र भित्र पनि एमाले जस्तै बा प्रवृति देखा परेको भन्दै कार्यकर्ताले गम्भीर चिन्ता व्यक्त गरे । प्रतिवेदनमाथि भएको समूह छलफलमा अन्य विषयहरूले समेत ठाँउ पाए। समूह छलफलका क्रममा उठेका विषयहरूलाई महाधिवेशन हलमा सुनाउने क्रममा टोली नेताहरूबाट ती धारणा आएका छन्।
प्रचण्ड बस्ने निवासको बारेमा समेत थुप्रै माओवादी कार्यकर्ताहरूले प्रश्न उठाएका छन्। विवादित ठेकेदार शारदाप्रसाद अधिकारीको खुमलटारस्थित आलिसान महल छोड्न प्रचण्डलाई दबाब दिएका छन्।माओवादी केन्द्रीय सदस्य देवेन्द्र पराजुली लगायतले प्रचण्डका लागि कार्यकर्ताले नै सुविधा सम्पन्न घर बनाइदिने समेत प्रस्ताव गरे। माओवादी कार्यकर्ताहरूले प्रचण्डसहितका नेताहरूको विलासी जीवन र आर्थिक स्रोतको दुरूपयोगबारे समेत कडा आलोचना गरेका छन्। प्रचण्डले आफ्नो प्रतिवेदनमा विश्वका १० धन कुवेरको हातमा विश्व किन्ने क्षमता भएको प्रसंग उल्लेख गरेका थिए। त्यसैलाई जोडेर माओवादी कार्यकर्ताहरूले आफ्ना पार्टीका धन कुवेरहरूको नाम सार्वजनिक गर्न भनेका छन्। उनीहरूले सबैभन्दा धनी माओवादीका १० नेतासँग ८ लाख कार्यकर्तासँग भन्दा धेरै पैसा भएको भन्दै व्यङ्ग्यसमेत गरेका थिए। लुम्बिनी प्रदेशका सांसद सुदर्शन बराललगायतले पार्टीका १० धनी नेताको सम्पत्ति सार्वजनिक गर्न माग गरे। उनीहरूले सँगै युद्ध लडेको कार्यकर्ता अरबमा जानुपर्ने अनि यहाँ भएको अर्को नेता अर्बपति बन्न कसरी सम्भव भयो भनेरसमेत प्रश्न गरेका छन्।माओवादी पार्टीमा तीस वर्षदेखि प्रचण्डमात्रै नेतृत्वमा छन्। यस पटक पनि उनी हुनेमा कुनै शंका छैन। तर अब कार्यकर्ताले प्रचण्डलाई बेलगाम छोड्ने देखिएको छैन। उनीहरूले कार्यकारी पदमा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने गरी विधान संशोधन गर्न माग गरेका छन्। माओवादीको विधान अनुसार महाधिवेशन प्रतिनिधिले केन्द्रीय सदस्य निर्वाचित गर्छन्। निर्वाचित केन्द्रीय सदस्यले पदाधिकारी चयन गर्छ। अब भने हलले नै पदाधिकारी चयन गर्नेगरी विधान बनाउन कार्यकर्ताले दबाब दिएका छन्।
प्रचण्डमाथि प्रहार भएको अर्को विषय उत्पादनसँग पार्टीलाई जोड्ने पनि हो। उनले पार्टीलाई उत्पादन र श्रमसँग जोड्ने भनेर दस्तावेज ल्याएका छन्। यस्तै प्रस्ताव २०६९ मा हेटौंडामा भएको महाधिवेशनमा समेत आएको थियो। त्यसको केही उपलब्धि नभएको र अहिले सफल हुन्छ भन्ने के ग्यारेन्टी छ भनेर कार्यकर्ताले प्रश्न गरे । प्रचण्डले महाधिवेसन हलमा आफू र आफ्नो टिममाथि उठेका थुप्रै प्रश्नको जवाफ दिदैं आफु अझै सबै थोक त्याग गरेर गाँउ गएर जनताको झुपडीमा बस्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे दिए । उसो त प्रतिवेदनमा प्रचण्डले विगतमा आफुबाट पार्टीको नेतृत्वको हैसियतले गल्ती स्वीकार पनि गरे । महाधिवेसनमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा आएका सुझावहरु समेटिने प्रचण्डले बताए । तर हलबाट आएको सुझाव लागु गर्न माओवादी भित्र कति सम्भव हुने बिषय पेचिलो सावित हुने देखिन्छ ।
माओवादी नेृतृत्व पंक्तिको व्यहार, शैली र नियतिमा परिवर्तन नभए जस्तो सुकै राजनीतिक प्रस्ताव ल्याए पनि जनताले पत्याई हाल्ने अवस्था भने छैन ।
प्रतिक्रिया