माओवादीको विधान परिमार्जनसहित अनुमोदन: १५ पदाधिकारीसहित २९९ सदस्यीय समिति

काठमाडौं, १७ पुस । नेकपा (माओवादी) केन्द्रको विधान मस्यौदा अनुमोदन भएको छ । यसअघि अन्तिम केन्द्रीय समिति बैठकमा प्रस्ताव गरिएको विधान मस्यौदा केही परिमार्जनसहित ८औं महाधिवेशनको बन्दसत्रबाट पारित भएको हो ।

अनुमोदित विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ भने १५ जना पदाधिकारी रहने छन् । विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।

पदाधिकारीलाई समावेशी बनाउने उल्लेख गरिएको छ । यस्तै केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी मिलाइने व्यवस्था रहेको छ । १५ प्रतिशत सदस्य मनोनीत गरिने छ । यसअघि १० प्रतिशतमात्रै मनोनीत हुने व्यवस्था थियो ।

माओवादीका एक केन्द्रीय सदस्यका अनुसार मस्यौदामा केही परिमार्जन गरी प्रतिनिधिको सुझाव अनुसार राष्ट्रिय परिषद्को पनि व्यवस्था गरिएको छ । यस्तै, केन्द्रमा जस्तै प्रदेशअन्तर्गत पनि गैरभौगोलिक विशेष कमिटी निर्माण गर्न सकिने व्यवस्था गरिएको उनले बताए । जसअनुसार महाशाखा, शाखा गठन हुनेछन् । विधान पारित भएलगत्तै बन्दसत्रस्थल कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमै स्थायी कमिटी बैठक जारी छ । बैठकपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति