महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्ने माग


काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रमा महाधिवेशनबाटै पदाधिकारी चयन गर्नुपर्ने माग उठेको छ ।कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष पेश गर्ने क्रममा १३ नम्बर समूहका नेता गोपाल शर्माले भनेका छन्, ‘पार्टी अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय कमिटी घोषणा गर्ने मनस्थितिमा रहेको भन्ने बाहिर आइरहेको छ । यसलाई पनि ख्याल गरिनुपर्छ ।

महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्छ ।’उनले जनवर्गीय संगठनहरुमा नेतृत्व र पदाधिकारीविहीन बनाउँदा राम्रो सन्देश नगएको बताए । ‘महाधिवेशनमा पनि यो स्थिति पैदा हुनु हुँदैन,’ उनले भने, ‘माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहलाई समेत कमजोर बनाइएको छ ।’उनले प्रचण्डपथलाई प्रचण्ड विचारधाराका रुपमा अघि बढाइनुपर्ने समेत बताएका छन् ।उपत्यका विशेष प्रदेशको समूहका टोली नेता जगत सिम्खडाले पनि प्रचण्डपथलाई ब्यूँताउनुपर्ने मत समूह छलफलमा आएको जानकारी गराएका छन् ।

सम्पर्क समन्वय विशेष प्रदेश कमिटी नेता श्रीकृष्ण अधिकारी (बिबेक शर्मा)ले दस्तावेजमा भारतीय विस्तारवाद, हिन्दु अतिवादले नेपालमा पारेको असर उल्लेख गर्नुपर्ने बताए ।समूहगत छलफलका निष्कर्षहरु प्रस्तुत भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्नेछ, त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति