माओवादी प्रतिनिधिको निष्कर्ष–चुच्चे नक्साको स्वामित्व ओलीलाई नदिएर हामीले लिनुपर्छ

काठमाडौं,१४ पुस ।  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को काठमाडौंमा जारी ८ औं महाधिवेशनमा आज समूह नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीति प्रतिवेदनमाथि भएको छलफलका निष्कर्षहरू सुनाइरहेका छन्।आज बोल्ने समूह नेताहरूले नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहितको शासन प्रणालीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनु पर्ने सुझाव दिएका छन्।

अहिलेसम्म रामनारायण बिडारी, गायत्री गुरूङ, टंक राई, अजम्बर काङबाङ र सत्यनारायण भगतले आफ्नो समूहमा भएका छलफलको निष्कर्ष बन्द सत्रमा सुनाएका छन्।उनीहरूले पार्टीभित्र आचरण, संस्कृति, वर्ग उठान, एनजिओको बारेमा स्पष्ट दृष्टिकोण, प्रत्यक्ष कार्यकारी, सरकारमा सहभागी हुने हरूको आचरणको विषय, संघीय संरचनाअनुसारको वैज्ञानिक शिक्षा नीति लागू गर्नुपर्ने सुझाव दिएका छन्।पार्टीका केन्द्रीय सदस्यका छोराछोरीलाई सामुदायिक ९सरकारी० विद्यालयमा अनिवार्य पठाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

कालापानी, लिपुलेक, लिम्पियाधुराको नक्सा पारित गरेको स्वामित्व ओलीलाई नदिएर हामीले लिनेगरी दस्ताबेजमा प्रष्ट उल्लेख गर्नुपर्ने निष्कर्ष पनि निकालिएको छ।माओवादी केन्द्र र एमाले एक भएर बनेको नेकपा नेतृत्वको सरकार हुँदा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेको थियो।

माओवादी महाधिवेशन प्रतिनिधिहरूले विश्व कम्युनिस्ट आन्दोलनबारे छोटो चर्चा गरेर साम्राज्यवादविरूद्व एउटा विश्व मोर्चा खडा गर्नुपर्ने र साम्राज्यवादी उत्पीडनको ठोस रूप के हुन दस्तावेजमा स्पष्ट गरिनुपर्ने बताएका छन्। माओदेखि प्रथम सहिद लखन थापादेखि प्रतिनिधिमूलक सबै सहिदको नाम लेखिनु पर्ने, मार्क्सवादको परिमार्जन होइन सिर्जनात्मक विकास भन्ने र कोभिड-१९ले विश्व अर्थतन्त्रमा पारेको असर दस्तावेजमा उल्लेख हुनु निष्कर्ष समूह नेताहरूले सुनाएका छन्।

स्टालिनबारे ३० प्रतिशत गलत र ७० प्रतिशत सही भन्ने माओको विचार उल्लेख गरेर चिनियाँ कम्युनिस्ट पार्टीको नीति, अर्थतन्त्र र त्यहाँको राजनीतिबारे स्पष्ट रूपमा दस्तावेजमा समावेशन गर्नु पर्ने उनीहरूको सुझाव छ।माओवादी केन्द्रले प्रचण्डको प्रतिवेदनमा छलफल गर्न २५ वटा समूह बनाएको थियो। प्रचण्डले छलफलका क्रममा उठ्न सक्ने लगभग सबै विषय समेटेर प्रतिवेदन बनाएकाले अहिले धेरैले त्यसको कार्यान्वयनमा जिज्ञासा राखेको माओवादी केन्द्रका एक नेताले बताए।‘पार्टीमा विलासिता बढ्यो, वर्ग दूरी बढ्योजस्ता कुराहरू उठ्न सक्छन् भनेर प्रचण्ड कमरेडले पहिले नै सबै समेट्नु भएको छ,’ ती नेताले भने,‘अहिले समूहमा छलफल हुँदा अब यो प्रतिवेदनको कार्यान्वयन कसरी हुन्छ भन्नेमा धेरैको चासो छ।’ केहीले अन्य राजनीतिक दललाई माओवादीले हेर्ने दृष्टिकोण के हो भन्नेबारे प्रश्न उठाएका छन्।प्रचण्डको प्रतिवेदनमा अरू दललाई माओवादी केन्द्रले हेर्ने दृष्टिकोणबारे उल्लेख छैन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति