मनाङ, १२ पुस । जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्तादेखि हिमाली जिल्ला मनाङमा यस वर्ष हिमपात हुन थालेकाे छ । माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भएको छ ।
चिसोले असहज भएपछि वार्षिक परीक्षाअघि नै विद्यालय बन्द गरिएको छ । गएको वर्षमा यो समयमा मनाङमा अन्तिम परीक्षाको नतिजा निकालिए पनि यस वर्ष परीक्षा नै लिन सकिएको छैन । आउँदो फागुन–चैतदेखि नयाँ शैक्षिक सत्रका लागि भर्ना लिएर पठनपाठन हुने गर्दथ्यो ।तर यस वर्ष कतै त्रैमासिक र कतै अर्धवार्षिक परीक्षा मात्रै सकिएको छ । वार्षिक परीक्षाको अझै पनि टुङ्गो छैन । मनाङका शिक्षक, विद्यार्थी र अभिभावक हिमपातअघि नै लमजुङ, चितवन, पोखरा, काठमाण्डौतर्फ झर्ने गरेकाेमा यस पटक परीक्षाअघि नै विद्यालय बन्द गरिएको बताइएकाे छ ।
ङिस्याङ गाउँपालिका–६, माथिल्लो मनाङमा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज घिमिरेले मङ्सिर २२ मा परीक्षा सकाएर विद्यालय बन्द गरिएको बताए । ‘हिउँले चिसो बढेपछि गाउँपालिकामा बैठक बसेर यस वर्ष जाडोअघिको पढाइलाई टुङ्ग्याउन बाध्य भयौँ’, उनले भने । हिउँ नपरे फागुन १५ र परे चैत १ देखि विद्यालय खुला गर्ने निर्णय पनि सँगसँगै गरिएकाे छ । ‘कोरोना सङ्क्रमणले यस वर्ष साउनदेखि शैक्षिक सत्र सुरु गर्नुपर्यो । गएको वर्ष चैतदेखि सुरु हुन्थ्यो’, उनले भने, ‘कोरोनाले शैक्षिक सत्र नै फेर्नुपर्यो ।’ आधारभूत तहका विद्यालय मङ्सिर २० गतेदेखि नै बन्द गरिसकेकाे छ । यस वर्ष शैक्षिक सत्र चार महिना पछाडि धकेलिएर २०७७ मङ्सिरमा लिनुपर्ने वार्षिक परीक्षा २०७८ असारमा लिनुपरेको घिमिरेले बताए ।
ङिस्याङ गाउँपालिका शिक्षा तथा खेलकूद शाखा अधिकृत बाबुराम गैह्रेले माथिल्लो मनाङका सबै विद्यालय बन्द गरिसकिएको बताएका छन् । पुस १ गतेदेखि लागू हुने गरी ४५ दिनको हिउँदे बिदा दिइएको छ । ‘मङ्सिर १७/१८ बाट नै हिउँ पर्न थाल्यो, प्रायः गोरखालीका बालबच्चा छन् यहाँ हिउँ पर्न थालेपछि गाह्रो भयो, बच्चा लानुपर्यो भन्दै अभिभावक आउने र बालबालिका लिएर जान थाल्नुभयो । विद्यार्थीलाई रोक्न सकेनौँ र हामीले परीक्षा रोक्न बाध्य भयौँ’, उनले भने । उनका अनुसार ङिस्याङ गाउँपालिकामा एउटा माध्यमिक विद्यालय, तीन वटा कक्षा एकरसातसम्मको आधारभूत, एउटा कक्षा एकरतीनसम्मको आधारभूत र चार वटा कक्षा एकरपाँचसम्मको आधारभूत विद्यालय छन् । उनले भने, ‘हिउँदे बिदा माघ १५ गतेसम्मका लागि गरिएको छ । त्यसपछि विद्यालय खुल्छ ।’
शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख मोतीप्रसाद चापागाईंले चिसो बढ्दै गएपछि मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका सबै विद्यालय बन्द गरिएको बताए । चामे र नासोंमा परीक्षा अन्तिम अन्तिममा पुगेको र विद्यालय बन्द हुने क्रममा रहेको उनले बताए । उनले भने, ‘हिमपातसँगै चिसो बढ्न थालेको छ । चिसोले बस्न नसक्ने अवस्था भएपछि परीक्षा सकाएर पालिकाले जाडो बिदा दिएको छ ।’ शिक्षा नियमावलीमा ४५ दिन विद्यालय बन्द गर्न मिल्छ । यसमा पाँच दिन स्थानीय बिदा लिने व्यवस्थाअनुसार बिदा बढाइएको छ । तर विद्यालय खुल्ने, खुलाउने र बन्द गर्ने निर्णय पछिल्लो समय पालिका र यस मातहतमा रहेकाले शिक्षा शाखाले प्रधानाध्यापकको बैठकमार्फत निर्णय गर्ने गरेका छन् ।
प्रतिक्रिया