काठमाडौँ, १२ पुस । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनमा आफूले ल्याएको राजनीतिक प्रतिवदेनमा नयाँ विषयहरु भएको बताएका छन् । उद्घाटन कार्यक्रमलाई प्रज्ञा भवनमा सम्बोधन गर्दै दाहालले महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिने राजनीतिक प्रतिवदेनको विषयवस्तुको खाका प्रस्तुत गरेका हुन् । जसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आएको परिवर्तनका विषय र त्यसले पारेको असरका बारेमा समीक्षा गरेको उनले जानकारी दिए ।
माओवादी कमजोर भएको समीक्षा र त्यसमा आफ्नै भूमिकाको विषयमा समीक्षा गरिएको बताए । उनले जनयुद्धदेखि अहिलेसम्मका महत्वपूर्ण घटनामा आफूले नेतृत्व गरेको र अहिले माओवादी केही कमजोर भएको महसुस गरेको पनि बताए ।जनयुद्धको तयारीदेखि त्यसको सञ्चालनसम्मको नेतृत्व गरेँ । १२ बुँदे समझदारी र शान्ति सम्झौतासम्ममा सहभागी भएँ । संविधानसभा निर्माणदेखि संविधान निर्माण भयो । सरकारको नेतृत्व गरेँ, प्रचण्डले भने, पछिल्लो समयमा माओवादी केही कमजोर भएको महसुस भएको छ । अरुलाई आलोचना होइन, आरोपित गरेर हुँदैन । मैले आफैंलाई चिरफार गरेको छु ।
त्यसैगरी प्रतिवेदनमा सूचना प्रविधिमा भएको विकास र भूमण्डलीकरणले पारेको असरदेखि जलवायु परिवर्तन, पार्टी सञ्चालनमा देखिएको समस्या र सांस्कृतिक रुपान्तरणको विषय समेत रहेको प्रचण्डले बताए । उत्पादक शक्ति र उत्पादन सम्बन्धमा आएको परिवर्तन र त्यसको अन्तर्द्वन्द्वको अवस्था पनि समेटिएको दाहालले बताए । यस विषयको व्याख्यामा अलि बढी मिहिनेतका साथ नयाँ कार्यदिशा दिने कोसिस गरेको छु, प्रचण्डले भने ।
प्रतिवेदनमा विज्ञान प्रविधिको क्षेत्रमा ८० को दशकपछि भएको विकासबारे समीक्षा गरिएको दाहालको भनाइ छ । सूचना प्रविधिमा भएको क्रान्ति र विश्वव्यापीकरणको विषय प्रतिवेदनमा छ, प्रचण्डले भने, डिजिटल युगमा विज्ञानले एउटा चामत्कारिक विकास गरेको छ, त्यसको विश्व अर्थतन्त्र, राजनीति, मानिसको आपसी सम्बन्धमा कस्तो प्रभाव छ भन्ने विषयको समीक्षा गरिएको छ । जसमा विज्ञान प्रविधिले समाजवादलाई कसरी लिएको छ भन्ने विषयलाई उठाएको दाहालले बताए । विज्ञान र प्रविधिको विकासले कि समाजवाद नभई भनी देखाएको छ भनेर चर्चा गरेको छुु, उनले भने । जसमा विज्ञान प्रविधिको विकास र भूमण्डलीकृत वित्तीय पुँजीवादको वर्चश्वका कारण गरिब र धनीबीचको खाडललाई झनै बढाएको दाहालले बताएका छन् । ुसीमित विकसित देशमा केन्द्रित भएको साधन र स्रोत र अल्पविकसत देशमा रहेको भयानक दरार देखिएको छ । त्यसकारण समाजवाद झनै बढी आवश्यक भएको छ भन्ने निष्कर्ष दिन खोजिएको छ,उनले भने ।
उनले विश्वभर गम्भीर र संवदेनशील विषयको रुपमा पर्यावरण विनास, पृथ्वीको तापक्रममा भइरहेको वृद्धि, जलवायु परिवर्तन, समुद्रको सतह बढ्ने विषयलाई प्रतिवेदनमा समेटिएको बताए । नेपाल हिमालको काखमा छ । त्यसको विश्वव्यापी अभियान कसरी छोड्न सकिन्छ रु भन्ने विषयमा पनि प्रतिवेदनमा उल्लेख छ, उनले भने, पुँजीवाद उत्पादन प्रणालीमा भूमिका के कति छ ?
त्यसैगरी नेपालको विषयमा पनि हालसम्मको विकासक्रमबारेमा विस्तृत रुपमा चर्चा गरिएको प्रचण्डले बताए । ऐतिहासिक पृष्ठभूमिसहित नेपाल कहाँ आइपुगेको छ, नेपालको अघि के चुनौती छन् र त्यसको सामना कसरी गर्ने विषयमा अलि सविस्तार व्याख्या विश्लेषण गरिएको छ, प्रचण्डले बताए ।
नेपालको राजनीतिक विकासक्रमको सन्दर्भ प्रस्तुत गर्दै हामीले कस्तो कार्यदिशाअन्तर्गत समाजवाद उन्मुख समृद्धि भनेको के हो ? प्रचण्डले भने, समाजवाद उन्मुख समृद्धि हुँदै सामाजिक विकास र न्यायको नयाँ युगतर्फ देशलाई लैजाने, यो देशको सबै उत्पीडित जाति क्षेत्र समुदाय हक अधिकारलाई सुरक्षित गर्ने के उपाय हुनसक्छ ? भन्ने विषयमा नयाँ र अलिकति परिमार्जित कार्यनीति र रणनीति प्रस्तुत गरिएको छ ।
उनले शिक्षा, स्वास्थ्य, पर्यावरण संरक्षणदेखि स्थानीय समुदायको हितलाई प्राथमिकता दिएर उत्पादन, श्रम र कार्यकर्ताको सांस्कृतिक रुपान्तरणको विषय रहेको बताए ।
शिक्षा, स्वास्थ्य, पर्यावरणको संरक्षणदेखि लिएर स्थानीय समुदायको हितलाई प्राथमिकता उत्पादन, श्रम र संस्कृति रुपान्तरणको गर्ने र नेता तथा कार्यकर्ता निश्चित अवधि जनतासँग घुलमिल भएर सामूहिक रुपमा बस्ने र सँगै खाने एउटा भ्रुणको रुपमा लिएको छ, उनले भने सांस्कृतिक रुपान्तरणको विषयमा ठूलो चमत्कार हुन्छ ठान्दिनँ तर भ्रुण दिने भन्ने कोसिस भएको छ ।
प्रतिक्रिया