राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

काठमाडौं, ११ पुस । राष्ट्रिय सभा सदस्यको आउँदो माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् ।राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए ।

यस निर्वाचनमा नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन राजनीतिक दलले कुनै प्रदेश विशेषमा मात्र भाग लिने गरी दल दर्ता गराएका हुन् । आयोगका अनुसार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिने छन् । लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश–२ र सुदूरपश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले वाग्मती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश–२ मा मात्र भाग लिने जानकारी दिइएको छ ।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राजनीतिक दललाई पुस १ देखि आजसम्म दल दर्ताका लागि समयावधि प्रदान गरेको थियो । प्रत्येक निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्नपर्ने संवैधानिक व्यवस्था छ ।यस निर्वाचनका लागि यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकी सकिएको छ ।

निर्वाचनका लागि प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । उन्नाइस पदका लागि हुने त्यस निर्वाचनमा पालिकाका एक हजार ४९३ र प्रदेश सभाका ५३२ मतदाता रहने छन् । आउँदो यस निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।

आउँदो फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा९एस०का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ ।

विज्ञका रूपमा मनोनीत रामनारायण बिडारीको कार्यकाल पनि त्यही मितिमा पूरा हुनेछ ।प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्ष भए पनि पहिलो पटक गोलाप्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो ।राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । यो निर्वाचनका लागि पुस २० गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । त्यही दिनदेखि निर्वाचन आचारसंहिता सबैका लागि लागू गराउने आयोगले सोच बनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति