काठमाडौँ, ११ पुस । प्रथम राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको नेकपा (माओवादी केन्द्र)ले उद्घाटनको एक दिनअघि महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ । पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो । जसलाई औपचारिकता दिन केन्द्रीय समितिको बैठक आइतबार बिहान बस्नेछ ।२०६९ माघमा हेटौंडामा सातौं महाधिवेशन गरेको माओवादीले नेतृत्व छान्न सकेको थिएन ।
अध्यक्ष पुष्पकमल दाहाल संस्थापन र बाबुराम भट्टराई पक्षबीच सहमति जुट्न नसकेपछि अध्यक्षमा दाहाललाई पुनर्निर्वाचित गरेको थियो । अर्को वर्ष विराटनगरमा राष्ट्रिय सम्मेलन गर्दै पदाधिकारी छानेको थियो । २०७४ को निर्वाचनको ठीक अघि रामबहादुर थापाको नेतृत्वको मोहन वैद्यसँग अलग्गिएको समूह, मातृका यादव र मणि थापासहितको समूहसँग एकीकरण गरेर नेकपा ९माओवादी केन्द्र० बनेको थियो । एमालेसँग एकीकरणको शून्य अवधि गणना गरेर यसै वर्ष नेतृत्व छनोटका लागि महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्नुपर्ने बाध्यतामा माओवादी छ । वैचारिक र तयारीको विषयमा समय पर्याप्त नभएको भन्दै माओवादीले महाधिवेशन नभई राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनले पनि राजनीतिक दलहरुलाई ५ वर्षमा महाधिवेशन वा राष्ट्रिय सम्मेलनबाट नेतृत्वको निर्वाचन हुनुपर्ने व्यवस्था गरेको छ ।माओवादीहरुले दुई वटा महाधिवेशनको बीचमा राष्ट्रिय सम्मेलन गर्ने अभ्यास गर्दै आएका थिए । वडा, पालिका हुँदै प्रदेशस्तरमा समेत कतिपय ठाउँमा चुनावै भएर प्रतिनिधिहरु राष्ट्रिय सम्मेलनका लागि तयार भएर आएका थिए ।
माओवादी नेतृत्वले आगामी वर्ष निर्वाचनको वर्ष भएको र त्यस कारणले डिस्टर्ब हुनसक्ने, महाधिवेशनमा लागि जुन रुपमा प्रतिनिधि छनोट र वैचारिक विषयमा समेत छलफल पुगेको भन्ने निष्कर्ष निकालेको छ । स्थायी समितिको बैठकअघि माओवादीका नेताहरुले निर्वाचन आयोगसँग परामर्श गरेका थिए । पूर्वमहान्यायाधीवक्ता मुक्ति प्रधानसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । एक स्थायी समिति सदस्यले भने, हेर्डक्वार्टरबाट प्रस्ताव आयो । हामीले त्यसमा धेरै छलफल गरेनौं ।
राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गर्यौं ।निर्वाचन आयोगले पनि राष्ट्रिय सम्मेलनलाई महाधिवेशनको रुपमा लिनेसक्ने भनेर ग्रिन सिग्लन दिएपछि माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणाम गरेको हो ।सुरुदेखि नै महाधिवेशन भनेको भए अर्कै माहोल हुन्थ्यो र यसमा अलिकति रणनीतिक रुपमा पनि परिवर्तन भएको हो,एक नेताले भने, महाधिवेशनमा विचारदेखि नेतृत्वसम्मको विषयमा चुनौती पनि आउसक्ने संभावना हुन्थ्यो । अन्तिम समयमा रुपान्तरण गर्दा सकैले केही भन्ने अवसर नै नपाउने भए ।
शनिबार स्थायी समितिको बैठकले गरेको निर्णयको विषयमा कतिपय केन्द्रीय समितिको सदस्यहरु अनविज्ञ रहेका थिए । जसमध्ये एक लेखनाथ न्यौपानेले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने विषयमा असन्तुष्टि व्यक्त गरेका थिए । राष्ट्रिय सम्मेलनमा महाधिवेशन अन्तर्गतको एउटा कार्यक्रम हो । महाधिवेशन सबैभन्दा माथिल्लो तहको केन्द्रीकरण हो । त्यस अन्तर्गतको राष्ट्रिय सम्मेलन हो ।
विचारको विषयमा बहस अलि परिपक्क र परिस्कृत भइनसकेको कारणले राष्ट्रिय सम्मेलन गरेर महाधिवेशनमा गर्ने भन्ने थियो, केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भने, सम्मेलनलाई महाधिवेशनमा भन्दिने कुरामात्रै हुन्छ होला । राष्ट्रिय सम्मेलनभन्दा महाधिवेशनको आयतन, छलफल र बहसको प्रक्रिया नै फरक हुन्छ । कसैले भनिदिएर उत्तिनै खेर सम्मेलन महाधिवेशनमा परिणत भइहाल्ने भन्ने हुँदैन । प्रक्रियाको हिसाबले गम्भीर हुन्छ ।
न्यौपानेले अन्तिम समयमा आएर बैठक बोलाउने र छलफलका लागि पर्याप्त समय नहुने र बोल्ने समय पनि नहुने भन्दै असन्तुष्टि व्यक्त गरे । अन्तिम समयमा कुरा हुन्छ । त्यसमा पर्याप्तसँग छलफल गर्ने अवसर पनि हुँदैन, न्यौपानेले भने ।
माओवादी केन्द्रले शनिबार दिउँसोसम्म सबै कामहरु राष्ट्रिय सम्मेलनको नाममा तल्लो तहको सम्मेलन गर्ने, प्रतिनिधि छान्ने, प्रचार सामग्री बनाउने, प्रस्ताव लेख्ने काम गरेको थियो ।
महाधिवेशनमा परिणत गर्ने निर्णयलगत्तै तुल, व्यानर, प्रतिनिधिहरुको कार्डमा समेत आठौं महाधिवेशन लेखेको बनाउन सुरु गरिएको उपत्यका विशेष प्रदेश समितिका सचिव सुरेन्द्र बस्नेतले बताए । हलको सेटअपदेखि सबै कुरा राष्ट्रिय सम्मेलनको नाममा गरेका थियौं । स्थायी समितिको निर्णयपछि सबै विषयमा परिवर्तन गर्न खोजेका छौुं, बस्नेतले भने, नयाँ व्यानर बनाउनका लागि हामीले दिइसकेका छौं । प्रतिनिधिहरुको पनि राष्ट्रिय सम्मेलनको कार्ड बनाएका थियौं । अब नयाँ कार्ड बन्छ ।
राष्ट्रिय सम्मेलन भनेर गरिएको तयारीलाई महाधिवेशनमा परिणात गर्न समय लाग्ने भएकाले निर्धारित कार्यक्रम केही ढिलो हुनसक्ने अनुमान गरिएको छ । माओवादीले राष्ट्रिय सम्मेलनमा अन्य दलका नेताहरुलाई शुभकामनाका लागि बोलाउने गरेको छ । तर, राष्ट्रिय सम्मेलनमा भएकाले नबोलाउने निर्णय थियो । आइतबार बिहान बस्ने केन्द्रीय समिति बैठकले यस विषयमा अन्तिम निर्णय गर्न सक्छ, एक नेताले भने ।
प्रतिक्रिया