काठमाडौं, ९ पुस। राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरुबीचको मतभेदलाई निरुपण गर्नुपर्ने बताएकी छिन् ।शुक्रबार राष्ट्रपति भवन शितल निवासमा तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘बौद्धिक राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम’ मा बोल्दै राष्ट्रपति भण्डारीले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र सामाजिक, आर्थिक रुपान्तरणका लागि राजनीतिक दलहरुबीचको मतभेदलाई लोकतान्त्रिक विधिबाट निरुपण गर्नुपर्ने बताएकी हुन् ।
भण्डारीले राष्ट्रियताको मर्मलाई सबैले आत्मासात् गर्नुपर्ने पनि बताइन । संविधानले प्रत्याभूत गरेका अधिकारहरुको संरक्षण र कार्यान्वयनबाट मात्रै स्थायित्व प्राप्त गर्न सकिने बताउँदै उनले भनिन, ‘राजनीतिक दलहरुबीच विद्यमान सानातिना मतभेदलाई लोकतान्त्रिक विधिबाट निरुपण गर्दै गणतन्त्रलाई तदनुरुपको आचरणद्वारा राम्रो जीवनशैलीमा रुपान्तरण गर्न आवश्यक छ । समाजको अग्रगामी परिवर्तनका लागि जनताको जीवनस्तर उठाउन आवश्यक छ ।’
राष्ट्रपति भण्डारीले अर्बौं रुपैयाको कृषि उपज आयात गरी व्यापारघाटा बेहोर्नु परेको भन्दै कृषि उत्पादन र उत्पादकत्वमा जोड दिएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने बताइन ।
उनले सामाजिक न्यायसहितको समृद्धिलाई लक्ष्य बनाउनुपर्ने धारणा राखिन । किसान, मजदुर र श्रमजीवि जनताको मुहारमा हाँसो र जीवनमा सकारात्मक परिवर्तन आए मात्रै प्राप्त गरेको राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने राष्ट्रपति भण्डारीको भनाई थियो ।त्यस अवसरमा राष्ट्रपति भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशी, डा। मिना आचार्य, प्राज्ञ गोपिरमण उपाध्याय, प्रा।डा। राजेश गौतम, प्रा.डा. सुरेन्द्र केसी लगायतलाई सम्मान गर्नुभएको थियो ।
प्रतिक्रिया