ओमिक्रोन संक्रमितको अस्पतालमा उपचार गर्नुपर्ने संभावना अन्य भेरियन्टको भन्दा कम

काठमाडौं, ९ पुस । एक अध्ययनले कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित मानिस अस्पताल गएर उपचार गर्नुपर्ने अवस्था अन्य भेरियन्टको तुलनामा ५० देखि ७० प्रतिशतले कम हुने देखाएको छ ।

बेलायतको स्वास्थ्य सुरक्षा निकाय (हेल्थ सेक्युरिटी एजेन्सी) ले गरेको एक अध्ययनले यसअघिका भेरियन्टको तुलनामा ओमिक्रोनका संक्रमितहरू अस्पताल गएर उपचार गर्नुपर्ने संभावना ५० देखि ७० प्रतिशतले कम हुने देखाएको हो ।तर, बुस्टर डोज लगाएको १० हप्तापछि ओमिक्रोन संक्रमणबाट मानिसलाई जोगाउने खोपको क्षमता कम हुँदै जाने पनि अध्ययनमा भनिएको छ ।अध्ययनका क्रममा अस्पताल भर्ना भएका ओमिक्रोनका १३२ संक्रमितसहित नोभेम्बरयता बेलायतमा देखिएका डेल्टा र ओमिक्रोन दुबै भेरियन्टका संक्रमितको अवस्थालाई विश्लेषण गरिएको थियो ।

अध्ययनपछि ओमिक्रोन संक्रमित मानिसलाई अस्पतालको आकस्मिक विभागमा लैजानु पर्ने अवस्था ३१ देखि ४५ प्रतिशतले कम हुने समेत देखिएको छ ।स्वास्थ्य सुरक्षा निकायले आफ्नो अध्ययनको निष्कर्ष ‘उत्साहजनक’ भनेको छ ।

तर ओमिक्रोनका कारण ठूलो संख्यामा मानिसहरू अस्पताल आउन सक्ने समेत निकायको भनाइ छ ।यसैबीच, बेलायतका स्वास्थ्य मन्त्री साजिद जाभिदले तत्कालै आगामी कदम निर्धारण गर्न हतार हुने बताएका छन् । प्रारम्भिक तथ्य ‘आशाजनक’ भएको र सरकारले उक्त तथ्यलाई हेरिरहेको उनको भनाइ थियो ।

तर ओमिक्रोनका लक्षण सामान्य भए पनि तीव रुपमा फैलिएका कारण अस्पतालमा चाप बढ्न सक्ने संभावना भने उच्च देखिन्छ ।पछिल्लो समय बेलायतमा कोभिड१९ का दैनिक संक्रमितको संख्या ह्वात्तै बढेका छन् । त्यहाँ बिहीबार १ लाख १९ हजार ७८९ जना नयाँ संक्रमित थपिएका छन् भने १४७ जनाको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति