काठमाडौँ, ६ पुस । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा मंगलबार बस्ने प्रतिनिधिसभाको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको हो ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलगायत राजनीतिक दलका पदाधिकारीको सहभागिता रहेको छ ।कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठ पनि सहभागी रहेका छन् । उनलाई सभामुखले आमन्त्रित सदस्यका रूपमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोलाएका हुन् ।यसअघिको बैठक (मंसिर २८ गते) मा एकीकृत समाजवादीका प्रमुख सचेतक श्रेष्ठलाई कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोलाएकोमा एमालेका प्रतिनिधिले आपत्ति जनाएका थिए ।
मंगलबारको बैठकमा भने एमालेका प्रतिनिधिले आपत्ति नजनाएको सभामुखको सचिवालयले जानकारी दिएको छ । सभामुखले आवश्यकताअनुसार सदस्य आमन्त्रण गर्न पाउने अधिकार प्रयोग गरेर श्रेष्ठलाई बोलाएको बताइएको छ ।कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सदस्यहरु लालबहादुर थापा र कृष्णभक्त पोखरेल रहेका छन् ।
माओवादीका प्रमुख सचेतक देव गुरुङ र सदस्य रेखा शर्मा लगायत उपस्थित छन् ।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही हुनुपर्ने माग राख्दै अघिल्लो अधिवेशनदेखि नै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । मंसिर २८ गतेदेखि जारी प्रतिनिधिसभाको अधिवेशनमा पनि एमालेले अवरोध जारी राखेको छ ।
प्रतिक्रिया