कांग्रेसको १४औं महाधिवेशनमा नेविसंघका ११ पूर्वअध्यक्ष एकसाथ नेतृत्वमा

काठमाडौं, ५ पुस ।  नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा २०२८ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष थिए। २८ वर्षको उमेरमा उनी नेविसंघको दोस्रो अध्यक्ष बनेका थिए। उनीपछि १७ जनाले नेविसंघको नेतृत्व गरिसकेका छन्।

नेविसंघको पछिल्ला अध्यक्ष हुन्– राजीव ढुंगाना। उनी आइतबार कांग्रेसको केन्द्रीय सदस्य (खुलातर्फ) विजयी भएका छन्। नेविसंघ स्थापनादेखि अहिलेसम्म यसमा १९ जना अध्यक्ष बने, तीमध्ये ११ जना कांग्रेसको १४औं महाधिवेशनबाट एकसाथ पार्टीको केन्द्रीय कार्यसमितिमा आएका छन्। नेविसंघका दोस्रा अध्यक्ष देउवा लगातार दोस्रो कार्यकालका लागि कांग्रेसस सभापति हुँदा चौथा अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की खुलातर्फ केन्द्रीय सदस्य बनेका छन्।

पाँचौं अध्यक्ष बलबहादुर केसी, छैटौं अध्यक्ष बालकृष्ण खाँण, सातौं अध्यक्ष एनपी साउद पनि कांग्रेसको केन्द्रीय सदस्य चुनिएका छन्। यसैगरी नेविसंघका आठौं अध्यक्ष धनराज गुरुङ कांग्रेस उपसभापतिमा विजयी हुँदा नवौं अध्यक्ष गोविन्द भट्टराई केन्द्रीय सदस्य बनेका छन्। नेविसंघका १०औं अध्यक्ष हुन्– विश्वप्रकाश शर्मा। उनी पनि १४औं महाधिवेशनबाट कांग्रेसको महामन्त्री बनेका छन्। १औं अध्यक्ष किशोरसिंह राठोर कांग्रेसको सहमहामन्त्री बनेका छन् भने १८औं अध्यक्ष नैनसिंह महर र १९औं अध्यक्ष राजीव ढुंगाना केन्द्रीय सदस्यमा विजयी भएका छन्। नेविसंघका संस्थापक अध्यक्ष विपिन कोइराला भने कांग्रेसको सक्रिय राजनीतिमा देखिँदैनन्। तेस्रा अध्यक्ष विमलेन्द्र निधि र १६औं अध्यक्ष कल्याणकुमार गुरुङ सभापति पदको प्रतिस्पर्धामा हारे।

१४औं महाधिवेशनमा चुनाव हार्ने नेविसंघका पूर्वअध्यक्षमा प्रदीप पौडेल पनि हुन्। १५औं अध्यक्षका रूपमा नेविसंघ हाँकेका पौडेल महामन्त्री पदमा हारेका हुन्। नेविसंघका १२औं अध्यक्ष गुरुराज घिमिरे प्रदेश १ को सभापतिमा हारे भने १७औं अध्यक्ष रञ्जित कर्णले सहमहामन्त्रीमा दर्ता गरेको उम्मेदवारी समय घर्किसकेपछि फिर्ता लिए।

नेविसंघ नेपाली कांग्रेसको कार्यकर्ता उत्पादन गर्ने ‘नर्सरी’ बनेको छ। प्रजातन्त्र पुनस्र्थापना प्रमुख उद्देश्य राखेर कांग्रेसले २०२७ सालमा नेविसंघ स्थापना गरेको हो।

नेविसंघको पहिलो महाधिवेशन २०२७ वैशाख ६ गते काठमाडौंमा भएको थियो। जसको उद्घाटन कांग्रेसका तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईले गरेका थिए।

नेविसंघको नेतृत्व गरिसकेका नेताहरू ‘प्रजातन्त्र पुर्स्थपाना गर्ने प्रमुख उद्देश्यसहित पञ्चायतको कालरात्रीमा क्रान्तिकारी विद्यार्थीहरूले विद्यार्थी एकता, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्श बोकेर’ नेविसंघ जन्माएको बताउँछन्। उनीहरू नेविसंघलाई कांग्रेसको मेरुदण्ड मान्छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति