काठमाडौं, ५ पुस । सामाजिक सञ्जालमा महिलालाई साथी बनाएर ठगी गर्न महिलाहरु नै सक्रिय देखिएका छन् । सामाजिक सञ्जालमार्फत सामान्य चिनाजानी भएकै आधारमा कहिल्यै नदेखे नभेटेको मान्छेलाई विश्वास गर्दा चितवनका दुई युवती झापाका तीन युवतीबाट ठगिएका छन् । ठगिने युवतीहरु धेरै भएको तर प्रहरीमा फाटफुट्ट उजुरी पर्न थालेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।दुई दिनअघिमात्रै चितवनबाट यस्तै घटनाका एक व्यक्तिलाई पक्राउ गरी कपिलवस्तु पठाइएको प्रमुख अधिकारीले जानकारी दिए । चिन्दै नचिनेको मान्छेलाई सामाजिक सञ्जालमा भेटेको भरमा विश्वास गर्नु ठूलो कमजोरी हो, उनले भने, ‘तैपनि मान्छे ठगिएपछि न्याय खौज्दै आउँछन्, हामीले अनुसन्धान गरेर कानुनी दायरामा ल्याउने गरेका छौँ ।’
व्यक्ति आफैँ सचेत भएमा अनलाइन ठगीका कुनै पनि घटना नहुने प्रमुख अधिकारीको भनाइ छ ।व्यक्तिगत प्रयोजनका लागि लिइने एटिएम कार्ड र कोड नम्बरसमेत महङ्गो सामान पाइने लोभमा नचिनेको व्यक्तिलाई भारतसम्म पठाएकोसमेत भेटिएको उनले बताए । आफ्नी दिदीलाई बिर्तामोड नगरपालिका वडा नं ४ शनिश्चरे झापा र मेचीनगर नगरपालिका वडा नं १० झापा घर भएका मन्जिला थापा, रिना बस्नेत र मीनाकुमारी विकले सामाजिक सञ्जालमार्फत ठगी गरेको भनी महतो थरकी एक युवतीले चितवन प्रहरीमा उजुरी दिइन् । जसमध्ये मीना फरार छिन् । अन्य आरोपित पुर्पक्षका लागि थुनामा गएका छन् ।
सामाजिक सञ्जालमा सम्पर्क गरी महङ्गो उपहार पठाइदिने भनी प्रलोभनमा पारेको र सोबापत ढुवानी खर्च तथा कर तिर्नुपर्ने भनी रकम माग गरी १६ लाख रुपैयाँ ठगी गरेको भनी प्रहरीमा उजुरी परेको छ । सामाजिक सञ्जालमार्फत ठगिएको भन्दै चौधरी थरकी अर्की युवतीले प्रहरीमा उजुरी दिइन् । उनलाई पनि आरोपितहरुले सामाजिक सञ्जालमा सम्पर्क गरी महङ्गो उपहार पठाइदिने भनी प्रलोभनमा पारेको र सोबापत ढुवानी खर्च तथा कर तिर्नुपर्ने भनी ६ लाख ४७ हजार लिएको उजुरीमा उल्लेख छ ।
आरोपितहरुले समाजिक सञ्जालहरु फेसबुक, इन्स्टा, भाइबर प्रयोग गरी ठगी गरेको प्रहरीले फेला पारको छ । देशभित्रै र भारतलगायत अन्य देशमा बसेर विभिन्न प्रलोभनमा पारी ठगी हुने गरेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक सुवास भट्टले बताए । ठगीमा परेपछि पीडित व्यक्ति डिप्रेसनमा जाने, अरु अपराध गराउन सक्ने, पारिवारिक सम्बन्धमै समस्या आउन सक्ने भएकाले स्वयं सचेत हुनुको विकल्प नरहेको प्रनि भट्टको भनाइ छ ।
‘चितवनमा पछिल्लो समय परेको अनलाइन ठगीको उजुरीका आधारमा हेर्दा केही महिलाहरु संगठित रुपमा समूह नै बनाएर मान्छे ठगिरहेका छन्, उनीहरुले ठग्न सजिलो होस भनेर महिलालाई नै टार्गेट गरेर धन्दा चलाएको पनि भेटिन्छ’, प्रनि भट्टले भने । ‘सोझासाझा नेपालीलाई महङ्गो समानमा लोभ्याएर किन्न लगाउने र बीचमा अनेक थरी मान्छेहरु प्रयोग भई पैसा लिने, सामान यहाँ आइपुग्यो भन्ने, सामान भन्सारमा अड्कियो भन्ने, फेरि पैसा माग्ने गरेको भेटिन्छ’, एक प्रहरीले भने ।
प्रतिक्रिया