काठमाडौं, १ पुस । कांग्रेस महामन्त्रीका उम्मेदवार मीनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
महाधिवेशनमा अपेक्षित मत परिणाम नआएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामाको घोषणा गरेका हुन् ।
नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु,उनले लेखेका छन्, अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।
महामन्त्रीको प्रारम्भिक मतपरिणामअनुसार उनी अहिले पाँचौं स्थानमा छन् । उनी शेखर कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार हुन् । सोही प्यानलबाट उम्मेदवार बनेका गगन थापा भने फराकिलो मतान्तरका साथ अगाडि छन् ।

प्रतिक्रिया