काठमाडौँ, १ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने आरोपको खण्डन गरेका छन् । उनले उक्त आरोप शतप्रतिशत झुटो भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबारको एक कार्यक्रममा प्रचण्ड र ज्ञानेन्द्रबीच भारतमा पाँच बुँदे सहमति भएको र दुईजना बीचको साँठगाँठमा उपद्रव मच्चाइएको अभिव्यक्ति दिएका थिए ।बिहीबार विज्ञप्ति जारी गर्दै प्रचण्डले उक्त सहमति भएको कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके माफी माग्न ओलीलाई चुनौती दिएका छन् ।प्रचण्डले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’प्रचण्डले अगाडि लेखेका छन्, ‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखापरेका एमाले गुटका अध्यक्ष के।पी। शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुुनः प्रमाणित गरेका छन् ।’

प्रतिक्रिया