भारतीय रक्षामन्त्री सिंहले भने– शिर झुकाएर बस्न किन नपरोस् नेपालसँग सम्बन्ध टुट्न दिँदैनौँ

नयाँदिल्ली, १ पुस । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सम्बन्धनलाई कुनै पनि हालतमा टुट्न नदिने बताएका छन् । मोदी सरकारमा वरिष्ठ मन्त्री रहेका सिंह भारतीय जनता पार्टी (भाजपा) का शीर्ष पंक्तिका नेता हुन् । बुधबार उत्तराखण्डको देहरादूनमा आयोजित एक कार्यक्रममा उनले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताएका हुन् । ‘चाहे जेसुकै होस, हामीलाई शिर झुकाएर बस्न किन नपरोस्, नेपालसँगको सम्बन्धलाई कुनै पनि हालतमा टुट्न र बिग्रिने दिने छैनौं,’ उनले भने, ‘केही यस्तो तागत छ, जो भारत र नेपालबीचको सम्बन्धलाई खराब गर्न चाहेका छन् ।

तर, म भारत सरकारको प्रतिनिधिको नाताले भन्न चाहन्छु, त्यो कुनै पनि हालतमा हामी हुन दिने छैनौं ।’ उनले उत्तराखण्डको सीमाको प्रसंग जोड्दै नेपालको विषय उठाएका थिए । उनले नेपालसँग भारतको ‘रोटीबेटी’ र विशेष सांस्कृतिक सम्बन्ध रहेको विषय पनि दोहर्‍याएका थिए । सिंहले आफ्नो भाषणहरूमा नेपालसँगको सम्बन्धलाई महत्त्व दिएर बोल्ने गरेका छन् ।कालापानी, लिपुलेक हुँदै नेपालको सीमा क्षेत्रमा पर्ने गरी भारतले दुई वर्ष अगाडि चीन सीमातर्फ जाने बाटो निर्माण गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको हो । भारत र नेपाल दुवैले कालापनी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो सीमामा राखेर नक्सा जारी गरेको छ । भारतले नयाँ नक्सा ल्याएपछि नेपालले पनि संविधान संशोधन गरेर नेपालको नक्सामा ती भूभागहरू समेटेको थियो । त्यसयता त्यस विषयमा दुई देशबीच वार्ता हुन सकेको छैन ।त्यस्तै, केही महिनाअघि दार्चुलामा भारतीय सीमा सुरक्षा फौज एसएसबीका जवानले तुइन काटिदिएर एक जना नेपाली महाकाली नदीमा बेपत्ता भएपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ । नेपालले भारतलाई त्यस घटनामा कूटनीतिक नोट पठाइसकेको छ । तर, भारतले त्यसको जवाफ अहिलेसम्म दिएको छैन ।उत्तराखण्डमा सैन्यधाम परियोजनाको प्रारम्भ गर्दै रक्षामन्त्री सिंहले मानसरोवार जानलाई लिपुलेक हुँदै बाटो तयार भइसकेको समेत उल्लेख गरेका थिए ।

उनले हरेक मौसममा चालु रहने ‘वेदर रोड’ ले सीमा क्षेत्रमा खटिने सैनिक तथा सीमा क्षेत्रका बासिन्दाका लागि पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए । ‘त्यो रोडको सामरिक महत्त्व छ, सीमासम्म जानलाई कुनै व्यवधान हुने छैन,’ उनले भने ‘सीमा क्षेत्रका नागरिकप्रति पनि सेना जतिकै सम्मान छ ।’धेरै क्षेत्रमा जस्तै रक्षा क्षेत्रमा पनि भारत आत्मनिर्भर बन्दै गएको चर्चा गर्दैर् उनले विगतमा ६५ देखि ७० प्रतिशत सैन्य सामग्र आयात गर्ने भारतले हाल ७२ देशमा सैन्यसामग्री निर्यात गर्ने गरेको जनाए ।

उनले अन्तर्राष्ट्रिय मञ्चमा भारतको प्रतिष्ठा तीव्रताका साथ बढेको दाबी गरे । ‘अब पहिलेको स्थिति फेरिएको छ, अन्तर्राष्ट्रिय मञ्चमा भारतको कुरा गम्भीरताका साथ सुनिन्छ,’ उनले भने ‘हामी कसैका सामुन्ने घुँडा टेक्ने बाला छैनौं ।’ उनले भारतले दुनियाँको कुनै पनि देशको एक इन्च पनि जमिन कहिल्यै कब्जा नगरेको बताए । तर, आफ्नो देशतिर आँखा देखाउने कोसिस गर्नेलाई भारतले कडा जवाफ दिने र त्यसलाई कसैले पनि रोक्न नसक्ने उनले चेतावनी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति