अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै तारागाउँ विकास समितिका सदस्य सचिवले दिए राजीनामा

काठमाडौं, २८ मंसिर । तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै सदस्य सचिव झविन्द्र ज्ञवालीले राजीनामा दिएका छन् ।उनीहरुबीच ह्यात रिजेन्सी होटल सञ्चालन गरिरहेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको सञ्चालक समितिको बैठकमा प्रतिनिधित्व लगायतका विषयमा विवाद थियो । कुनै अधिकार नभएको अध्यक्षले सदस्य सचिवको दैनिक काम कारवाहीमा हस्तक्षेप गरेको र कतिपय आर्थिक अनियमितताका क्रियाकलापमा संलग्न रहेको आरोपसहित सदस्य सचिव ज्ञवालीले राजीनामा दिएका हुन् । सदस्य सचिवले अध्यक्ष न्यौपानेमाथि तीनवटा आरोप लगाएका छन् । पहिलो, अध्यक्ष न्यौपानेले जथाभावी खर्च देखाउने गरेको आरोप लगाएका छन् । जुनसुकै निर्णयमा हस्तक्षेप र आफ्नो संलग्नताविना भुक्तानी नगर्नू भन्ने आदेश दिने गरेकाले राजीनामा दिएको ज्ञवालीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जानकारी गराएका छन् ।तारागाउँ विकास समितिको जग्गा र शेयर विवादमा पनि अध्यक्ष न्यौपानेले शंकास्पद भूमिका खेलेको दोस्रो आरोप छ । ह्यात होटल सञ्चालन गरिरहेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडमा सरकारी स्वामित्वको तारागाउँ विकास समितिको ४० प्रतिशत हिस्सा थियो । लगानीकर्ताहरु राधेश्याम सर्राफ र दिनेशलाल श्रेष्ठको समूहले समितिको शेयर ९ प्रतिशतमा झारेपछि समितिको प्रतिनिधित्व पनि एक जनामा सीमित भएको थियो ।समितिको तीन सदस्यीय प्रतिनिधित्व पनि एक जनामा सीमित भयो । यही निर्णयमा असहमति जनाई सरकारले कम्पनीको सञ्चालक समितिको बैठकमा प्रतिनिधि नै नपठाउने रवैया अपनाएको थियो । ‘हायात होटल सञ्चालनका क्रममा तारागाउँ विकास समितिले गरेको लिज सम्झौता रद्द गर्न खोजेका थियौं’ उनले भने, ‘तर उहाँ (अध्यक्ष न्यौपाने) ले कम्पनीको बैठकका सहभागी भएर उनीहरुको काम कारवाहीमा वैधता दिनुभयो ।’सदस्य सचिव ज्ञवालीले पर्यटनमन्त्री प्रेमकुमार आलेलाई बुझाएको राजीनामापत्रमा तेस्रो आरोप पनि छ । अध्यक्ष न्यौपानेले दैनिक काम कारवाहीमा हस्तक्षेप गरेकाले आफूले राजीनामा दिएको ज्ञवालीको राजीनामापत्रमा उल्लेख छ ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार तारागाउँ विकास समितिमा अध्यक्ष प्रल्हाद न्यौपानेले जथाभावी खर्च गरेको र अनियमित खर्च गरेको भनी बारम्बार उजुरी परेको थियो । अध्यक्ष र सदस्य सचिवबीच विवाद चलिरहेका बेला सदस्य सचिव ज्ञवालीले राजीनामा दिएका हुन् ।तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेले आफूमाथिको आरोप अस्वीकार गर्दै उल्टै सदस्य सचिव ज्ञवालीमाथि ती आरोप लगाए । उनले भने, ‘सदस्य सचिवले गरेका निर्णयहरु शंकास्पद र अलि मनोमानी प्रकृतिका थिए । मौखिक सुझाव दिँदा उहाँले नमानेपछि मैले लिखित निर्देशन दिएको हो ।’उनले चार वर्षदेखि समितिबाट कम्पनीमा प्रतिनिधित्व नै नभएर संवादहीनता भएकाले आफू उपस्थित भएर फरक मत राखेको बताए । ‘हामी उपस्थित नै नभएपछि उनीहरुलाई झनै सहयोग गरिदिएजस्तो हुने भयो’ न्यौपानेले भने, ‘त्यसैले सञ्चालक समितिको बैठकमा उपस्थित हुने तर उनीहरुको निर्णयमा असहमत हुने निर्णय गरेको हुँ ।’तारागाउँ विकास समितिभित्र विभिन्न अनियमितता गरेको भनी राष्ट्रिय सतर्कता केन्द्रमा समेत उजुरी परेको थियो । बौद्धस्थित जग्गाको अनियमिततादेखि तारागाउँ रिजेन्सी होटल्स लिमिडेटका सञ्चालक रहेका राधेश्याम सर्राफ र दिनेशलाल श्रेष्ठ लगायतसँग मिलेर अध्यक्ष न्यौपानेले समितिलाई नोक्सानी पुर्‍याएको भन्ने आरोप थियो । साथसाथै अस्वाभाविक खर्च गरी कार्यालयबाट भुक्तानी लिएको अनि भ्रमण र काजका नाममा जथाभावी खर्च गरेको भनी उजुरी परेको थियो ।छानविनपछि सतर्कता केन्द्रले सरकारी स्वामित्वको जग्गा संरक्षण गर्न र बिक्री नहुने सुनिश्चितता गर्न समितिलाई निर्देशन दिएको थियो । अनि ४० प्रतिशतबाट ९ प्रतिशत हिस्सामा सीमित भएको सरकारी शेयर पनि हकदावी गर्न निर्देशन दिएको थियो । तर छानविनका क्रममा केन्द्रले अध्यक्ष न्यौपानेमाथिको आरोप भने पुष्टि नहुने भनी प्रतिवेदन पेश गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति