दोस्रो चरणमा निर्वाचन हुने भएपछि नेताहरूबीच दौडधुप : अबको अंक गणीत यस्तो बन्दै

काठमाडौं, २८ मंसिर । कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ निर्णायक बनेका छन् । सोमबार भएको निर्वाचनमा सभापति शेरबहादुर देउवाले पहिलो र अर्का प्रत्यासी शेखर कोइरालाले दोस्रो भोट पाएपनि बहुमत पुर्‍याउन सकेनन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।त्यसआधारमा अब देउवा र कोइरालाबीच पुनः प्रतिस्पर्धा हुनेछ । यस्तोमा पहिलो चरणको निर्वाचनमा तेस्रो, चौथो र पाँचौ भएका सिंह, निधि र गुरुङ निर्णायक बन्ने देखिएका छन् ।पहिलो चरणको निर्वाचनमा देउवाले २२५८ मत प्राप्त गरेका छन् भने कोइरालाले १७२९ मत पाएका छन् । देउवा र कोइरालाका बीच ५२९ को मतान्तर छ ।जबकि सिंहले ३७१, निधिले २४९ र गुरुङले २० मत प्राप्त गरेका छन् । सिंह, निधि र गुरुङको मत जोड्दा ६४० मत हुन्छ । जबकि जितका लागि देउवालाई ८२ मत र कोइरालालाई करिब छ सय मत आवश्यक पर्छ ।

महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता छन् । पहिलो चरणको निर्वाचनमा ४ हजार ६ सय ८१ मत खसेको थियो ।देउवाले पहिलो चरणमै ५० प्रतिशत कटाएर जित निकाल्ने रणनीति अपनाएका थिए । त्यसैका लागि उनले पहिलो चरणमै नेता कृष्णप्रसाद सिटौलासँग समीकरण गरेर प्यानल बनाएका थिए । तर, झिनो मतले उनले बहुमत पुर्‍याउन सकेनन् ।कोइराला भने चुनावलाई दोस्रो चरणमा लैजाने र परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छन् । सिंह र निधिले पनि चुनाव दोस्रो चरणमा पुगेको अवस्थामा आफूहरूको भूमिका अर्थपूर्ण देखेका थिए । निधिले यसअघि नै आफूहरूले कोइरालालाई सहयोग गर्ने घोषणा गरिसकेका छन् । ‘चुनाव दोस्रो चरणमा जान्छ, प्रकाशमानजी, म र शेखरजी मिल्छौँ, दोस्रोचरणबाट नेतृत्व परिवर्तन हुन्छ,’ उनले भनेका थिए ।त्यस्तै, प्रकाशमान सिंहले पनि सोमबार मतदान गरेर बाहिरिदै गर्दा आफू नेतृत्व परिवर्तनको पक्षमा रहेको बताएका थिए ।दोस्रो चरणमा निर्वाचन हुने भएपछि नेताहरूबीच दौडधुप सुरू भएको छ ।देउवा जित आफ्नो पक्षमा पार्न सिंह वा निधिलाई आफ्नो पक्षमा पार्न सके पुग्नेछ । तर, कोइरालाका लागि देउवाबाहेक सबैका बीचमा एकता गर्नुपर्ने आवश्यक देखिएको छ ।पछिल्ला महाधिवेशनमा कांग्रेसमा निरन्तर जसो दुई भन्दा धेरै उम्मेदवार छन् । त्यस्तोमा १३ औँ महाधिवेशनमा रामचन्द्र पौडेल नेतृत्वको तत्कालीन संस्थापन समूहमा फुट आउँदा त्यसको फाइदा देउवालाई पुगेको थियो ।

१३ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला थिए । दुई चरणको निर्वाचनबाट मात्रै परिणाम देउवाको पक्षमा आएको थियो ।त्यसबेला ३१४८ मत खसेको थियो, पहिलो चरणमा देउवाले ११ भोटले बहुमत पुर्‍याउन सकेका थिएनन् । त्यसबेला देउवाले १५६४, पौडेलले ११६० र सिटौलाले ३२४ भोट पाएका थिए । जबकि सभापति जित्नका लागि १५७५ मत ल्याउनुपर्ने थियो ।

देउवाले दोस्रो चरणमा सिटौलालाई आफ्नो पक्षमा पार्न सफल हुँदा १० औँ महाधिवेशनदेखि निरन्तर सभापतिमा प्रतिस्पर्धा गर्दै आएका उनी कांग्रेसको सभापतिमा चुनिएका थिए ।दोस्रो चरणमा ३१६१ भोट खसेको थियो, देउवाले १८२२ र पौडेलले १२९६ मत पाएका थिए, मतान्तर ५२६ थियो ।अर्थात् १३ औँ महाधिवेशनमा देउवा र सिटौला समीकरण बन्दा देउवाले करिब ५८ प्रतिशत मत पाएका थिए । दोस्रो चरणमा जाँदा पहिलो चरणमा भन्दा देउवालाई २५८ मत थपिएको थियो, पौडेललाई १३६ मत थपिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति