२७७७ मत गन्दा देउवालाई १३१८, कोइरालालाई १०२३

काठमाडौं, २८ मंसिर । कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।

अहिलेसम्म २ हजार ७ सय ७७ मत गणना हुँदा देउवाले १३१८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १०२३ र प्रकाशमान सिंहले २०५ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले १६६ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १२ मत मात्र प्राप्त भएको छ ।

मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्‍न भएको थियो ।

कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने बताइएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति