काठमाडौं, २८ मंसिर। नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् ।
राष्टिय सभागहृमा प्रदेश २ बाट मतगणना सुरु भएको थियो । २५० मत गणना गर्दा देउवाले १३२ मत पाएका छन् भने डा. शेखर कोइरालाले ८१ मत पाएका छन् ।
यस्तै प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले एक मत पाएका छन् ।कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।
सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने पार्टीको निर्वाचन समितिले जनाएको छ । मत गणना चाँडै सम्पन्न होस् भनेर विभिन्न समूह बनाएर गणना गरिएको छ । समितिका अनुसार मङ्गलवार बिहानसम्म सभापतिको मतगणना सम्पन्न हुनेछ ।
सदस्य र पदाधिकारीका लागि मत खसालिएका ८४ वटा ट्याङ्की सोमवार मध्यरातमै पार्टी कार्यालय सानेपा लगिएको छ । शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तर प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ ।
सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । १४औँ महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।
प्रतिक्रिया