ओलीलाई गगनले फर्काए जवाफ

काठमाडौं, २५ मंसिर । कांग्रेस केन्द्रीय सदस्य गगन थापाले एमाले अध्यक्ष केपी ओलीलाई जवाफ फर्काएका छन्। ओलीले कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा थापालाई लक्षित गर्दै ‘एमालेको समृद्ध नेपाल, सुखी नेपाली’को अभियान कपी गरेको अभिव्यक्ति दिएका थिए। ‘आदरणीय केपी ओलीज्यू, चौधौं महाधिवेशनको पूर्वसध्यामा स्नेही कांग्रेस जनमाझ सल्लाह, सुझाव र छलफलका लागि मैले प्रस्तुत गरेको ‘समुन्नत नेपालःसम्मानित नेपाली’को अवधारणा तपाईंले पनि पढेको थाहा पाएर खुसी लाग्यो। तर टिप्पणी चाहिँ अलि हतारमा गर्नु भएछ,’ थापाले ट्वीटरमा भनेका छन्।

उनले २०७२ सालमा संविधान जारी भएपछि सम्पन्न तेह्रौं महाधिवेशनमै कांग्रेसको सम्पूर्ण राजनीति अब ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को निर्माणमा समर्पित हुनुपर्छ, नीति र कार्यक्रमसहित त्यसलाई कार्यान्वयन गर्नसक्ने बन्नका लागि पार्टीको रूपान्तरण हुनुपर्छ भनेर निरन्तर प्रस्ताव गर्दै आएको स्मरण गराएका छन्।

‘यो महाधिवेशनपछि सैद्धान्तिकरूपले पुनर्जागृत र रूपान्तरित नेपाली कांग्रेसले सामाजिक लोकतन्त्रको सैद्धान्तिक खाकाभित्र ‘समुन्नत नेपालःसम्मानित नेपाली’को संकल्पसहित राष्ट्रिय अभियान प्रारम्भ गर्दा तपाईंसँग जम्काभेट हुने नै छ,’ थापाले भनेका छन्, ‘अहिलेलाई जय नेपाल।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति