काठमाडौं, २५ मंसिर । कांग्रेसको १४ औं महाधिवेशन सुरु भएसँगै शेरबहादुर देउवाको साढे पाँच वर्षको कार्यकाल सकिएको छ । यो कार्यकालमा उनी पार्टीलाई सक्षम बनाउन संसद, सरकार र सडकमा असफल रहे । उनले नेतृत्व गरेको कांग्रेसले यो अवधिमा न निर्वाचनमा राम्रो परिणाम ल्याउन सक्यो, न खरो प्रतिपक्षको रुपमा उत्रिन सक्यो ।सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री भएका उनले सरकारको काम प्रभावकारी बनाउन सकेनन् । यति हुँदाहुँदै पनि उनी जसरी पनि पुनः सभापति हुने रणनीतिमा लागेका छन् ।उनले शुक्रबार महाधिवेशनको उद्घाटन कार्यक्रममार्फतनै मत मागे, जसलाई अधिकांश नेताहरूले अस्वभाविक शैलीको रुपमा टिप्पणी गरेका छन् ।चार वर्षको कार्यकाल लम्बाएर साढे पाँच वर्षसम्म पुर्याएका देउवाले विगतमा आफूले के कस्ता काम गरे भन्ने बारेमा आम मतदातालाई केही बताउन चाहेनन् ।कम्युनिष्ट पार्टीहरूको टुटफुटबाट प्रधानमन्त्री बनेका देउवाले गठबन्धन सरकार ‘गिर्न’ सक्ने भय देखाएर फेरि सभापतिमा निर्वाचित हुन खोजेका छन् ।अहिलेको गठबन्धन सरकार टुट्दा फेरि ओलीको पुरानो शासन सुरु हुनसक्ने भय देउवाले उद्घाटन समारोह समापन गर्दै भने । आफ्नो नेतृत्वको सरकार टिकाउँदा आगामी निर्वाचनबाट स्थानीय, प्रदेश र संघ गरी तीनै तहमा कांग्रेस नेतृत्वको सरकार बन्ने दाबी गरे ।
‘भयमुक्त शासन सञ्चालन हुने निर्णय महाधिवेशनले गरेको अवस्थामा गाउँदेखि केन्द्रसम्ममै कांग्रेसको सरकार निर्माण हुन्छ । त्यसको जिम्मा म लिन्छु, मलाई एकपटक जिताई दिनुहोस् ।’दोस्रो कार्यकालका लागि मत मागिरहँदा देउवाले अबको आफ्नो राजनीतिक र वैचारिक दृष्टिकोण अघि सार्न सकेका छैनन् । पार्टीमा विचारलेभन्दा अंकगणित मिलाएर शासनसत्ताको केन्द्रमा पुग्न सफल भइरहेका देउवाले समयमै पार्टीको महाधिवेशन गर्न सकेनन् । पार्टी विधानले चार वर्षभित्रै महाधिवेशन गर्नुपर्ने हुन्छ ।तर पार्टीलाई संवैधानिक जोखिमबाट बचाउन निर्वाचन आयोगसँग ‘गुहार’ माग्दै साढे पाँच वर्षपछि मात्रै कांग्रेसको अधिवेशन भएको हो । संविधानले साढे ५ वर्षभित्र कुनैपनि पार्टीको केन्द्र र प्रदेशका अध्यक्ष र पदाधिकारीको निर्वाचन हुनुपर्ने व्यवस्था गरेको छ ।
कांग्रेसको साढे पाँच वर्षको अवधि भदौ २३ बाट सकिएको हो ।२०७४ को निर्वाचनपछि कांग्रेस प्रतिपक्षमा पुग्यो । एमाले र माओवादी एकता भएपछि बनेको केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि देउवा खरो प्रतिपक्षको भूमिका निभाउन चुके । बरु कतिपय विषयमा सरकारलाई बल पुग्ने काम गरे ।सर्वोच्च अदालतले एमाले माओवादीलाई अलग नगरिदिएको भए देउवा ‘सुतेको प्रतिपक्ष’ को रुपमा हुन्थे । सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका उनले ८९ दिनपछि मन्त्रिपरिषद् विस्तार गरे । सांसद नरहेका गजेन्द्र हमाललाई मन्त्री बनाएपछि उनी झन् विवादमा परे ।पार्टीभित्र र बाहिरबाट चर्को दबाबमा परेपछि हमालले राजीनामा दिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मन्त्रीको भागबण्डा दिएकै कारण हाल न्यायालयको विवाद सुल्झन सकेको छैन । सरकारका काम प्रभावकारी बनाउने ध्यान नदिएका देउवा जसरी पनि पुनः सभापति हुने रणनीतिमा लागेका छन् ।‘गणेशमानको त्याग, गिरिजाबाबुको साहस र किसनुजीको निष्ठा’ को कांग्रेस बनाउँछु भनेर देउवाले आफ्नो चुनावी प्रचारमा उल्लेख गरेका छन् । जुन कुरा उनले ०७२ फागुनको २३ मा सम्पन्न १३ औं महाधिवेशनका बेलामा पनि उल्लेख गरेका थिए । तर देउवाकै कार्यकालमा कांग्रेसमा निष्ठावान, योग्य र क्षमताबान कार्यकर्ताले अवसर नपाएको भनेर सबैभन्दा आलोचना भइरहेको छ ।
निष्ठाले भन्दा पेशा, व्यवसाय र पैसाको बलमा ‘पार्टी कब्जा’ गर्नेतिर अघि बढेको भन्दै उद्घाटन सत्रमै वरिष्ठ नेता रामचन्द्र पौडेलले कटाक्ष गरे । ‘पैसाबाट बाँडेर चुनाव जित्ने कुरा अन्त्य हुनुपर्छ । पैसा दिएर, घुस खुवाएर न्याय दिने कुरा अन्त्य हुनुपर्छ’ देउवा प्रति कटाक्ष गर्दै पौडेलले भनेका थिए ।
सभापति चुनिएका दुई वर्ष देउवा सत्ता ल्याउने हिसावकिताबमै बिताए । तत्कालीन केपी ओली नेतृत्वको सरकार ढाल्ने योजना बनाएरै बस्दा देउवाले समय भित्रै गर्नुपर्ने पार्टीका गर्नेपर्ने कुनै पनि काम गर्न सकेनन् ।माओवादी केन्द्रसँगको गठबन्धन बनाएर तत्कालीन ओली नेतृत्वको सरकार ढालेर उनी प्रधानमन्त्री भएका थिए । पार्टी र सरकारको नेतृत्व सम्हालेका बेलामै भएका निर्वाचनमा कांग्रेसले तीनवटै तहका निर्वाचन हार्नुपर्यो ।संविधान अपूर्ण भएको भन्दै निर्वाचन बहिष्कार गरेर सडक आन्दोलन गरिरहेका तत्कालीन मधेस केन्द्रित दललाई त्यतिबेला निर्वाचनमा ल्याउनु सक्नुलाई देउवाको सवल पक्षका रुपमा लिने गरिन्छ ।तर तत्कालीन प्रधानन्यायाधीश सुशील कार्कीविरुद्धको महाअभियोग र प्रहरी महानिरीक्षक बनाउन गरिएको हस्तक्षेपले देउवामाथि पार्टीभित्रै तीव्र आलोचना भएको थियो ।देउवाले साढे वर्षसम्म भातृसंस्थाहरूको अधिवेशन गर्न सकेनन् । नेविसंघजस्तो जुझारु संगठन लामो समयदेखि तदर्थवादमा चल्दै आएको छ । तरुण दल, महिला संघ, दलित संघजस्ता दर्जनौं भातृसंस्थाहरूको अस्तित्वनै अहिले पार्टीमा देखिने गरेको छैन । पार्टीलाई उर्जाशील बनाउन खडा गरिएका विभागहरू उनले समयभित्रै गठन गर्न सकेनन् ।उनी सभापति बन्दा विधानले दुई वर्षभित्रै विभागहरू गठन गर्नुपर्ने व्यवस्था गरेको थियो । महाधिवेशन घोषणा भईसकेपछि गर्न खोज्दा बिबाद उठ्यो । उनले एकपक्षीय रुपमा २१ वटा विभाग गठन गरेपनि संस्थापनइतर खेमाको बिरोधका कारण काम गर्न सकेनन ।केन्द्रीय कार्य सम्पादन, अनुशासन, संसदीय समिति ९निर्वाचनपछि विघटन भएको० निर्वाचन समिति रिक्त अवस्थामा उनले साढे पाँच वर्ष विताई दिए । १३ भातृसंस्थामा किसान संघले स्थापनाकालदेखिनै अधिवेशन गर्न सकेको छैन् । प्रजातान्त्रिक सेनानी संघ, आदिबासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, तामाङ संघ र नेपाल ठाकुर समाज कसैको अधिवेशन भएको छैन ।एउटै व्यक्तिको नेतृत्वमा तीन कार्यकाल भन्दा बढी यी संस्थाहरू तदर्थबादमा चल्दै आएका छन ।पार्टीमा कोइराला परिवाबारको दबादबाबिरुद्ध सघर्ष गरेर अघि बढेका देउवाले ०५९ सालमा पार्टीनै विभाजित गरेर आफ्नो नेतृत्वमा नेपाली कांग्रेस (प्र्रजातान्त्रिक) गठन गरेका थिए । ०६४ सालमा नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिक बीच एकिकरण भयो ।
गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा देउवा त्यतिबेला पार्टीका बरिष्ठ नेता भए । एकिकरणका बखत पार्टीका हरेक संरचनाहरू ६० प्रतिशत संस्थापन र चालिस प्रतिशत देउवाले लिनेगरी पार्टी एकिकरण भएको थियो । त्यहिँबाट बिजारोपण भएको भागबण्डा अहिले आउँदा सम्म अन्त्य हुन सकेन । बरु, झन झ्य्गािदै गयो ।१२ औं महाधिवेशनमा देउवा तत्कालिन सभापति सुशील कोइरालासँग प्रतिस्पर्धा गर्दा पराजित भएका थिए । कोइरालाको निधनपछि कोइराला समूहको बिरासत सम्हाल्दै पौडेलले नेतृत्व लिए । १३ औं महाधिवेशनमा पौडेललाई हराउदै देउवा सभापति चुनिएका हुन ।०४८ सालदेखि देउवा निरन्तर सत्ता राजनीतिको केन्द्रमा छन् । ४५ वर्षको उमेरमै गृहमन्त्री बनेका देउवा ४९ वर्षमा त प्रधानमन्त्रीनै बनीसकेका थिए ।०५२ सालमा पहिलोपल्ट प्रधानमन्त्री बन्दा एमाले नेतृत्वको नौ महिनाको सरकार ढालेर उनी प्रधानमन्त्री बनेका हुन । त्यतिबेलापनि कांग्रेसलाई सरकार चलाउने जनमत थिएन ।राप्रपाभित्रको गुटमा खेलेर देउवाले सत्ताको बागडोर सम्हालेका थिए । त्यसपछि उनी ५८ र ६१ सालमा प्रधानमन्त्री भए । भाग्यवादमा विश्वास गर्ने देउवा अझै दुई पटक प्र्रधानमन्त्री बन्ने जोखना हरेर बसेका छन । पहिलोदेखि पाँचौ प्रधानमन्त्रीसम्म इतिहासमा हेर्दा उनलाई ‘एक्सिडेन्टल प्रधानमन्त्री’का रुपमा लिन सकिन्छ । उनी आफै जनमत लिएर प्रधानमन्त्री बन्न सकेका छैनन् ।०७४ को निर्वाचनमा कम्युनिष्ट जनमत दुई तिहाई भन्दा बढी थियो । एमाले र माओवादी केन्द्रको गठबन्धनमा केपी ओली नेतृत्वको सरकार दुई तिहाई निकटको थियो । सात प्रदेश र केन्द्रमा अविश्वास प्रस्ताव दर्ता गर्ने एकचौथाई संख्या समेत कांग्रेससँग थिएन । देउवा आफ्नै एजेण्डा लिएर प्रधानमन्त्री बनेका पनि होइनन ।
गत पुस ०७७ पुस ५गते तत्कालिन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गर्दा देउवा पक्षमा वकालत गरेका थिए । पार्टीभित्रै त्यसको बिरोधमा रामचन्द्र पौडेलले नेतृत्व गरे । पौडेल नेतृत्को समूहको अडानले देउवालाई अहिले सत्तामा पुर्याएको हो र सबै प्रदेशमा कांग्रेस सत्तामा पुगेको हो ।अहिले उमेरले देउवा ७७ वर्ष पुगेका छन् । महाधिवेशनमा आउने प्रतिनधिहिरु उनका नाती उमेरकै पचास प्रतिशत छ । नाती उमेरका प्र्रतिनिधिहरूले मत दिएर फेरी सभापति बन्ने आशामा देउवा छन् । पार्टीको नेतृत्वमा पुग्ने, आफैले आगामी तीनवटा निर्वाचनमा उम्मेदवार बाँड्ने र फेरी छैटौंपटक सत्तामा पुग्नेबाहेक देउवाले आम प्रतिनिधिलाई अरु सपना बाड्न सकेका छैनन् ।
प्रतिक्रिया