पौडेल समूहको नयाँ प्रस्ताव : सभापतिमा सहमति नभए पदाधिकारी र केन्द्रीय सदस्यको एउटै टिम बनाऔं

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहबाट सभापतिको साझा उम्मेदवार छनोटको सम्भावना टर्दै गएको नेताहरुले बताएका छन् ।

सहमतिको प्रयासमा नेताहरुको दौडधुप चलिरहेको छ । सहमतिको प्रयास असफल भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल मौन बसेका छन् । उनी आफ्नो समूहका नेताहरुले गरेको छलफलमा समेत सक्रिय रुपमा सहभागी भएका छैनन् ।यद्यपि उपसभापति, महामन्त्री र सहमहामन्त्रीका आकांक्षीहरुले भने सहमतिको प्रयास छाडेका छैनन् ।

बिहीबार दिउँसो महामन्त्री डा.शशांक कोइरालालाई भेटेर पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका उनीहरुले साँझ सभापतिका दुई आकांक्षी प्रकाशमान सिंह र डा. शेखर कोइरालालाई छुट्टाछुट्टै भेटेका थिए । उनीहरुले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै साझा उम्मेदवारका रुपमा अघि सारेर भएपनि अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए ।सभापतिमा साझा उम्मेदवार बनाउने सम्भावना टर्दै गएपछि नेताहरुले नयाँ विकल्पमा छलफल थालेका छन् ।एक केन्द्रीय सदस्यका अनुसार पौडेलको नाममा सहमति जुट्छ भने आफूले पनि स्वीकार गर्न सभापतिका आकांक्षी डा। कोइराला सकारात्मक देखिएका छन् । सिंह सभापतिको उम्मेदवार बन्दा आफूलाई पनि रोक्न नमिल्ने शेखरको तर्क छ ।पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने पौडेललाई साझा उम्मेदवार मान्न आफू तयार नभएको बताए । पौडेललाई आफूले १३औं महाधिवेशनमै सभापतिमा छाडेकाले यो पटक आफ्नो नाममा सहमति हुनुपर्ने उनको अडान छ । सहमति हुँदैन भने पनि आफूले सभापतिमा उम्मेदवारी दिने उनले बताएका छन् ।

‘सभापति नभए अरु साझा उम्मेदवार बनाऔं’

सभापतिमा साझा उम्मेदवार बनाउने सम्भावना टर्दै गएपछि नेताहरुले नयाँ विकल्पमा छलफल थालेका छन् । शुक्रबार बिहान अनुपम फुडल्याण्डमा छलफल गरेका केन्द्रीय सदस्यहरुले भनेका छन्, यदि सभापतिमा सहमति जुट्दैन भने पदाधिकारी र केन्द्रीय सदस्यमा भने साझा उम्मेवार खोजौं ।

यो अवस्थामा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि साथ दिनुपर्ने उनीहरुले बताएका छन् । एक केन्द्रीय सदस्य भन्छन्, ‘हामी साँझ ५ बजे सबै नेताहरुसहित बस्छौं । यदि सभापतिमा सहमति जुट्दैन भने पदाधिकारी र सदस्यहरुको एउटै टिम बनाउँछौं । त्यो बेलामा रामचन्द्र दाइले पनि साथ दिनुपर्छ ।’

अर्का एक केन्द्रीय सदस्यका अनुसार त्यस्तो टिम बनेको अवस्थामा उनीहरु सभापतिका दुबै उम्मेदवार (सिंह र कोइराला)सँग नजोडिने अवस्था पनि आउन सक्छ । यद्यपि सभापतिका आकांक्षी शेखरले भने आफूलाई समर्थन गर्नुपर्ने बताएका छन् । सहमति हुन्छ भने रामचन्द्र पौडेललाई छाड्न आफू तयार भएको भन्दै उनले भनेका छन्, ‘सहमति हुँदैन भने तपाईंहरुले मलाई सघाउनुपर्छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति