नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले जनाएको छ । उद्घाटन कार्यक्रममा मुख्य दलका प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गर्नेछन् ।विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने कांग्रेसले जनाएको छ ।

महाधिवेशन उद्घाटन हुनुअघि आज बिहान १० बजे महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन हुनेछ । उद्घाटन सकेपछि आजै बन्दसत्र सुरु गर्ने तयारी छ ।नयाँ नेतृत्वको लागि मतदान भने सोमवार बिहान ८ बजेदेखि सुरु गर्ने कार्यतालिका छ ।

महाधिवेशनले आउँदो ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधि सहभागी हुँदैछन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ ।यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति