‘बुस्टर डोज लगाए ओमिक्रोनबाट सुरक्षित’

काठमाडौं, २४ मंसिर । खोप निर्माण कम्पनी फाइजर र बायोएनटेकले कोभिडविरुद्धको खोपको बुस्टर डोजले ओमिक्रोन भेरियन्ट संक्रमितको शरीरमा प्रभावकारी प्रतिरक्षा विकास गर्ने जनाएको छ ।

कम्पनीले अन्य भेरियन्टविरुद्ध फाइजर खोप दुई मात्रा लगाउँदा विकसित हुने रोगप्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध भने तीन मात्रा आवश्यक पर्ने देखिएको अध्ययनले पुष्टि गरेको जनाएको हो । फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोउर्लाले बिहीबार एक विज्ञप्ति जारी गर्दै खोपको तेस्रो मात्राले ओमिक्रोनविरुद्ध सुरक्षा बढाउने जनाएका हुन् । तर उक्त कम्पनीले पछिल्लो नतिजा प्रारम्भिक रहेको बताउँदै वास्तविक प्रभावकारिताबारे ठोस अध्ययन गर्न तथ्यांक संकलन जारी रहेको जनाएको छ । फाइजरले ओमिक्रोनलक्षित खोप विकसित गरिरहेको र त्यो सय दिनभित्र वितरणका लागि तयार हुने उनको भनाइ छ ।

तर उक्त खोप आपत्कालीन प्रयोगमा आउनुअघि खोप नियामक निकायहरूबाट स्वीकृत हुनुपर्छ ।यसअघि, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडविरुद्ध हाल प्रयोगमा रहेका खोपहरूले नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको जनाएको थियो ।दक्षिण अफ्रिकामा गरिएको परीक्षणमा ओमिक्रोनविरुद्ध फाइजर खोपको प्रभावकारिता पहिलेको तुलनामा कम देखिएको विवरणपछि डब्लूएचओको भनाइ सार्वजनिक भएको थियो ।

हाल विश्वभरका अनुसन्धानकर्ताहरूले ओमिक्रोन र खोपको प्रभावकारिताबारेका तथ्यांकहरू संकलन गरिरहेको जनाएका छन् ।नयाँ भेरियन्टविरुद्ध मोडेर्ना, जान्सेन र अन्य खोपहरूको प्रभावकारिताबारे भने अध्ययन भइसकेको छैन् । हासम्म देखिएकामध्ये ओमिक्रोन सबैभन्दा बढी उत्परिवर्तित भेरियन्ट हो ।

पहिलो पटक नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा पुष्टि भएको ओमिक्रोनले हाल विश्वव्यापी रूपमा त्रास फैल्याइरहेको छ ।डब्लूएचओले यो भेरिएन्टलाई ‘संक्रमणको उच्च जोखिम’ को सूचीमा राखिसकेको छ । ओमिक्रोनको उत्परिवर्नन तीव्र रूपमा फैलिइरहेकाले थप सतर्कता अपनाउनुपर्ने संगठनको भनाइ छ । तर, पहिलेका भेरियन्टको तुलनामा ओमिक्रोनले मानिसहरूमा पार्ने प्रभावबारे भने अझै प्रस्ट भइसकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति