काठमाडौँ, २३ मंसिर । कांग्रेसको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि चयनका लागि २१ मंसिरमा सर्लाहीको क्षेत्र नम्बर ४ मा निर्वाचन भयो । त्यहाँबाट महाधिवेशन प्रतिनिधिका लागि कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अमरेशकुमार सिंह पनि प्रतिस्पर्धामा थिए । सिंह पार्टी महाधिवेशन प्रतिनिधिमा पराजित भए । मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।सिंहको २४८ मत मात्रै आएको थियो ।सिंह पक्षका नेता तथा कार्यकर्ताहरू क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । यहाँ सभापति शेरबहादुर देउवानिकट नेता तथा कार्यकर्ताले अधिवेशन जितेका छन् ।
सिंह १४औँ महाधिवेशनमा सहमहामन्त्रीका लागि तयारी गर्ने योजनामा थिए । सिंहका लागि दुर्भाग्य, सर्लाही कार्यकर्ताले महाधिवेशन प्रतिनिधिका लागि उनलाई विश्वास गरेनन् र उनको सहमहामन्त्रीको उम्मेदवार हुने सिंहको आकांक्षा पूरा नहुने भयो । सिंह मात्र होइन, दर्जन नेताहरूले महाधिवेन प्रतिनिधि बन्नका लागि कार्यकर्ताको विश्वास आर्जन गर्न या पार्टी भित्रैको गुट र उपगुटलाई परास्त गर्न सकेनन् । कतिपय कांग्रेसका प्रभावशाली नेताहरू महाधिवेशन प्रतिनिधिको निर्वाचनमा होइन, वडा कमिटीमै पनि पराजित भए । यता कांग्रेसको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलकै सन्दर्भ लिन सकिन्छ ।
पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने भूमिकामा रहेका पौडेल महाधिवेशन प्रतिनिधि चयन हुन सकेनन् । पौडेल काठमाडौं क्षेत्र नम्बर ७ बाट खसआर्य पुरुषतर्फ महाधिवेशन प्रतिनिधिका दावेदार थिए तर, उनलाई कार्यकर्ताले विश्वास गरेनन् ।त्यसैगरी, पूर्वमन्त्री शिवराज जोशी र खड्कबहादुर बस्याल पनि महाधिवेशन प्रतिनिधिमा पराजित भए ।
सुर्खेत क्षेत्र नं २ बाट प्रतिनिधि चुनिएर आउने प्रयासमा रहेका उनीहरू मात्र पराजित भएनन्, सुर्खेत जिल्लाका पार्टी सभापति कमलराज रेग्मीले पनि महाधिवेशन प्रतिनिधिको निर्वाचनमा जित्न सकेनन् ।कांग्रेसमा लामो राजनीतिक यात्रा गरेका पुराना नेता ओमकारप्रसाद श्रेष्ठ पनि प्रतिनिधि बन्न सकेनन् । २०१२ सालमै कांग्रेसको क्रियाशिल सदस्यता पाएका श्रेष्ठ कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेस कालमा केन्द्रीय कार्यसमिति सदस्य पनि थिए ।
श्रेष्ठ एक पटक मन्त्री पनि भएका थिए । तर, ललितपुर क्षेत्र नं।।३ बाट महाधिवेशन प्रतिनिधि चयन हुने प्रयासमा उनी असफल भए ।यता, कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल पनि महाधिवेशन प्रतिनिधिका लागि कार्यकर्ताको विश्वास जित्न असफल भए । बाग्लुङको क्षेत्र नम्बर १ बाट पौडेलले खुला महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका थिए । त्यसैगरी, चितवनका कांग्रेस नेता एवं पूर्वमन्त्री शेषनाथ अधिकारी पनि महाधिवेशन प्रतिनिधिमै पराजित भए ।
त्यसो त, नेविसंघको राजनीतिमा सक्रिय केही नेताहरू पनि महाधिवेशन प्रतिनिधि बनेर आउन सकेनन् । विद्यार्थी राजनीतिमा प्रभावशाली मानिएका नेविसंघकी महामन्त्री महेश्वरी कुँवर, पूर्वमहामन्त्री सरोज थापाले पनि भूगोलमा कार्यकर्ताको विश्वास जित्न सकेनन् । कुँवर र थापाजस्तै नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमल्सिना पनि वडा कमिटीमै पराजित भए ।कांग्रेसका पुराना तर प्रभावशाली नेताकै रूपमा दरिन्थे लक्ष्मण घिमिरे । पूर्वजलस्रोतमन्त्रीसमेत रहेका घिमिरे केन्द्रीय कार्यसमिति सदस्य पनि हुन् । २०६५ पछि कांग्रेसको राजनीतिमा फरक मत राख्दै आएका घिमिरे यसपटक केन्द्रीय कार्यसमितिमा पुनः आउने प्रयासमा थिए । तर, घिमिरे रामेछापबाट महाधिवेशन प्रतिनिधि चयन हुनै सकेनन् ।कार्यकर्ताको विश्वास जित्न नसक्दा पुरञ्जन आचार्य पनि महाधिवेशन प्रतिनिधि बन्न सकेनन् । कांग्रेसमा कोइराला परिवारका विश्वास पात्रको रूपमा चिनिने आचार्य मोरङबाट प्रतिनिधि चयन हुन सकेनन्, जसले गर्दा उनको पनि पार्टी केन्द्रमा आउने बाटो तत्काललाई बन्द भएको छ ।
प्रतिक्रिया