काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले शुक्रबारदेखि सुरू हुने १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बन्न चाहनेहरूको सूची तयार पार्न ९ जना नेतालाई जिम्मा दिएको छ।
बुधबार बिहान प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको बुढानिलकण्ठस्थित घरमा बसेको बैठकले प्रदेशअनुसार आकांक्षीको सूची बनाउन नेताहरूलाई जिम्मेवारी दिएको हो।
कांग्रेसमा १६७ सदस्यीय केन्द्रीय समिति छ। त्यसमध्ये ३३ जना मनोनित हुन्छन् भने १३४ जना चुनावी प्रतिष्पर्धाबाट आउँछन्। १३४ मध्ये ३५ जना खुला केन्द्रीय सदस्य हुन्छन् भने बाँकी ९९ जना विभिन्न कलस्टरबाट छानिन्छन्। अहिले कांग्रेसका विभिन्न तहका नेताहरूले खुला र समावेशीतर्फ केन्द्रीय सदस्य उठ्ने घोषणा गरिरहेका छन्। तीमध्ये अन्तिम टुंगो लगाउन आफ्नो समूहका आकांक्षीको सूची तयार पार्न देउवा पक्षले नेताहरूलाई जिम्मवारी दिएको हो।
सुदूरपश्चिममा एनपी साउँद र रमेश लेखक, कर्णालीमा पूर्णबहादुर खड्का र जीवनबहादुर शाही, लुम्बिनीमा बालकृष्ण खाण, गण्डकीमा गोपालमान श्रेष्ठ, बागमतीमा प्रकाशशरण महत, प्रदेश २ मा रमेश रिजाल र प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्कीले सूची बनाउने जिम्मा पाएका छन्।
देउवा पक्षीय एक नेताका अनुसार उनीहरूले जतिसक्यो छिटो आकांक्षीको सूची बनाएर बुझाउने छन्। देउवा पक्षबाट पदाधिकारीमा को-को उम्मेदवार हुने भन्ने कुरा पनि टुंगिन बाँकी छ। यस विषयमा छलफल गर्न आज बैठक बसेको थियो। आज कुनै निर्णय भने भएन। यसबारे थप छलफल गर्न बिहीबार फेरि बुढानिलकण्ठमा बैठक बस्दैछ।
प्रतिक्रिया