काठमाडौं, २२ मंसिर । सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेसी व्यवस्थापन सुरू भएपछि नयाँ संकट देखा परेको छ । ४० दिनको आन्दोलनपछि मङ्सिर १५ गतेबाट सर्वोच्च अदालतका न्यायाधीशहरू नियमित इजलासमा गए ।
प्रधानन्याधीशसँग बेञ्च सेयर नगर्ने अडान लिएका न्यायाधीशहरू गोलाप्रथाबाट पेसी तोकिन थालेपछि नियमित इजलासमा बस्न त थालेका छन्, तर एकैदिन ५० भन्दा बढी मुद्दाहरू हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पर्न थालेपछि सेवाग्राही भने मर्कामा परेका छन् । गोला प्रक्रियाबाट पेसी तोक्ने व्यवस्था हुँदा हेर्न नमिल्ने न्यायाधीशले गोला तान्ने प्रक्रियाबाट अलग हुने सम्भावना छैन । पहिले जिल्ला वा उच्च अदालतमा सुनुवाई गरेका न्यायाधीश, अधिवक्ताबाट न्यायाधीश बनेका तर पहिले अधिवक्ता हुँदा पक्ष वा विपक्षमा बहस गरेका न्यायाधीशको इजलासमा मुद्दाहरू परेमा ती मुद्दा स्वतः हेर्न नमिल्ने सूचीमा पुग्छन् । तर महिनौँ वा वर्षौँपछि पालो आएका यस्ता मुद्दाहरू फेरि हेर्न नमिल्ने न्यायाधीशको सूचीमा पर्दा सेवाग्राही त्यसै फर्कनुपर्ने अवस्था आएको छ ।
मङ्सिर २१ गते मंगलबार ३५२ वटा मुद्दा पेसीमा चढ्दा ३२ वटा मुद्दा हेर्न नमिल्ने सूचीमा परे । मंगलबार न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको इजलासमा परेका एउटा मुद्दा, विश्वम्भरप्रसाद श्रेष्ठ र वमकुमार श्रेष्ठको इजलासमा २४ वटा मुद्दा, अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासमा २ वटा मुद्दा, प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुङ्गानाको इजलासमा परेका ४ मुद्दा र तेज बहादुर केसीको एकल इजलासमा परेको एउटा मुद्दा हेर्न नमिल्ने सूचीमा पर्यो । मंगलबार मात्रै होइन, मङ्सिर २० सोमबार झन् बढी अर्थात् ५२ वटा मुद्दा हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पर्न गयो । सोमबार ४४७ वटा मुद्दा पेसीमा चढ्दा ५२ वटा मुद्दा हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पर्न गयो । बल्ल बल्ल पालो आएको मुद्दा पनि हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पर्दा सेवाग्राही त्यसै फर्किनुपर्यो । सर्वोच्च अदालतमा बल्ल पालो आएको मुद्दा पनि हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पर्दा सेवाग्राही दुखी हुँदै गुनासो पोखेको दृश्य दिनहुँ देखिन्छ । मंगलबार एक सेवाग्राहीले भने, ‘बल्ल बल्ल ६ महिनामा पालो आएको थियो, त्यही मुद्दा आज हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेछ । अब फेरि अर्को पालो आउन अर्को ६ महिना कुर्नुपर्ने होला । अनि कसरी न्याय पाइन्छ ।’ती सेवाग्राहीले भने, ‘२०७५ फागुनपछि त अदालतमा बहससमेत हुन पाएको छैन ।
२०७५ फागुनपछि आठौँपटक पेसीमा चढेको थियो । तर ८ पटक नै कहिले हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पर्छ कहिले आफ्नै वकिल त कहिले प्रतिवादीको वकिलले स्थगित गरिदिन्छन् । २०७२ सालदेखि चलिरहेको अपुताली हक कायम, जालसाजी र नामसारीको मुद्दाको बहस हुनै कठिन भइसक्यो ।’सर्वोच्च अदालतमा यस्ता धेरै मुद्दाहरू छन् जो पटकपटक हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पर्छन् । पहिले प्रधानन्यायाधीशले पेसी तोक्दा पनि त्यो समस्या हुन्थ्यो भने अहिले गोला प्रक्रियाबाट पेसी तोक्ने व्यवस्था सुरु गर्दा यो समस्या झनै बढेको छ । सर्वोच्च अदालत स्रोतका अनुसार गोला प्रक्रियाबाट पेसी तोक्ने व्यवस्था सुरु भएपछि हेर्न नमिल्ने न्यायाधीशको इजलासमा यस्ता धेरै मुद्दाहरू पर्न थालेका छन् ।
गोला तान्दा कुन मुद्दा कसलाई पर्छ भन्ने थाहा नभएकाले एकैदिन दुई न्यायाधीशको संयुक्त इजलासमै २४ वटासम्म हेर्न नमिल्ने मुद्दा पर्न थालेको छ । सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले भने, ‘हो, अहिले हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पनि धेरै मुद्दाहरू पर्ने गरेका छन् । वर्ष दिनपछि पालो आउँदा पनि हेर्न नमिल्ने न्यायाधीशको बेञ्चमा परिदिँदा सेवाग्राही आक्रोश व्यक्त गर्छन् । तर त्यसलाई तत्काल सम्बोधन गर्ने अवस्था सर्वोच्च अदालतसँग पनि छैन । जबसम्म पूर्ण स्वचालित विधिबाट पेसी व्यवस्थापन हुँदैन, त्यतिबेलासम्म यस्तो समस्या आइरहन सक्छ ।’


प्रतिक्रिया