काठमाडौं, २० मंसिर । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत श्रीधर खत्रीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई इन्डो प्यासिफिकसँग जोड्नु गलत भएको बताए । नेपाल र अमेरिका दुबै तर्फको गल्तीका कारण पनि एमसीसीलाई इन्डो प्यासिफिकसँग जोडेर हेरिएको उनको दावी छ । सोमबार संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा प्रस्तावित राजदूत खत्रीले एमसीसी सम्झौताबारे छलफल हुँदा संसदबाट अनुमोदन गर्ने व्यवस्था राख्नु नेपालको गल्ती भएको बताए ।
यसै कारण बीआरआई (चीनको बेल्ट एण्ड रोड इनिसियटिभ परियोजना) लगायतका अरु विकास सम्झौता पनि संसदबाट अनुमोदन हुनुपर्ने अवस्था आएको उनले बताए ।‘अमेरिकाले पनि गल्ती गरेको छ, रक्षा सहायकमन्त्रीले एमसीसी, इन्डो प्यासिफिक अन्तर्गत पर्छ भनिदिनुभयो । त्यसले अर्को भ्रम फैलिएको महसुस गर्न सकिन्छ’ प्रस्तावित राजदूत खत्रीले भने ।प्रस्तावित राजदूत खत्रीले एमसीसीले दिने सहयोग विकासका लागि अनुदान भएको र सम्झौताबारे उठेका विषयहरुमा अमेरिकाले प्रष्ट पारेको बताए । एमसीसी सम्झौता, दलहरुबीच र देशभित्रको विवादमा अल्झिएको जस्तो देखिएको भन्दै उनले भने, ‘लिने हो भने प्रष्ट भने हुन्छ । नलिने हो भने प्रष्ट भने हुन्छ ।’
प्रतिक्रिया