काठमाडौं– ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले राजीनामा दिएँगै उक्त पदमा नयाँ अनुहार आएका छन्। उनी हुन्– भारतीय मूलका पराग अग्रवाल। विगत १० वर्षदेखि ट्विटरसँग आबद्ध अग्रवाल मंगलबारबाट नयाँ सीईओ नियुक्त भएका हुन्।
यसअघि उनी ट्विटरका प्रमुख प्राविधिक अधिकृत थिए। भारतीय आप्रवासी रहेका ३७ वर्षीय अग्रवाल अन्य सामाजिक सञ्जालका सीईओ जस्तो ‘सेलेब्रिटी’ नभई गुपचुप उदाएका छन्। ट्विटरको नयाँ सीईओ भएका अग्रवाललाई ‘सीआरएफएम’ (कन्टेसन फ्रि रेण्डम एक्सेस) का अनुसन्धाता एञ्जेला जिनोले ‘लगानीकर्ताहरु अनुकूल हुने सुरक्षित छनोट’ भएको बताएका छन्। ट्विटरका लगानीकर्ताहरुले डोर्सीलाई दबाबपूर्ण ढंगले निकालेको दाबी गर्ने जिनोले अग्रवाल उनीहरूको अनुकूल हुने तर्क अघि सारेका छन्।
ट्विटरका नयाँ सीईओको रुपमा अग्रवालले के कस्ता नीति अपनाउँछन् र सन् २०२३ सम्म आफ्नो वार्षिक आम्दानी दोब्बर बनाउने कम्पनीको योजनालाई कसरी योगदान दिन्छन् भन्ने भोलिको विषय हो। तर, अग्रवाल विश्वकै ठूलो सञ्चार र प्रविधिको कम्पनीमा आवद्ध हुँदा ठूला ‘टेक’ कम्पनीमा भारतीय मूलका सीईओको बाहुल्य भएको छ।
गुगलमा सुन्दर पिचाई
सन् २०१५ मा भारतीय मूलका सुन्दर पिचाई गुगलको सीईओको रुपमा नियुक्त भएका थिए। कम्पनीको तेस्रो सीईओ नियुक्त भएका उनी गुगलका सह–संस्थापक लेरी पेजपछिका दोस्रो सीईओ थिए। उनीभन्दा अघि गुगलमा एरिक स्मिट सीईओ थिए।
गुगलको सीईओ बनेका सुन्दरको अर्को यात्रा मूल कम्पनी ‘अल्फाबेट’मा पुग्यो। सन् २०१९ मा उनी गुगलको मुल कम्पनी अल्फाबेटको पनि सीईओ नियुक्त भएका थिए।
भारतीय–अमेरिकी नागरिक उनी हाल गुगल र अल्फाबेट दुवैको सीईओ छन्। भारतको मद्रासमा जन्मिएर ‘आईआईटी खरगपुर’मा इञ्जिनियरिङ गरेका उनी अमेरिकामा अध्ययनको क्रममा पुगेका थिए। सन् २००४ मा गुगलमा प्रवेश गरेका उनले सुरुवातमा उत्पादन व्यवस्थापन शाखामा काम गरेका थिए। उनले गुगलको क्रोम, गुगल ड्राइभ र क्रोम ओएसजस्ता प्रयोगकर्ता विशेष सफ्टवेयरहरुको निर्माणमा पनि भूमिका खेलेका थिए।
माइक्रोसफ्टमा सत्य नडेल्ला
सन् १९६७ मा भारतमा जन्मिएका सत्य नडेल्ला अहिले संसारकै प्रमुख सफ्टवेयर उत्पादक तथा प्राविधिक कम्पनी माइक्रोसफ्टको सीईओ छन्। उनले सन् २०१४ मा पूर्वसीईओ स्टिभ बालमेरको ठाउँ ओगटेका थिए।
उनले सन् १९८८ मा भारतको कर्नाटकस्थित मनिपाल इन्स्चिट्युट अफ टेक्नोलोजीमा इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातक गरेका थिए। उनी थप अध्ययनका लागि सन् १९९० मा अमेरिका पुगेका थिए। अमेरिकामा उनले कम्युटर साइन्समा स्नातकोत्तरसँगै एमबीए ९व्यवस्थापन–प्रशासनमा स्नातकोत्तर० पनि गरेका थिए। सन् १९९२ मा माइक्रोसफ्टमा प्रवेश गरेका नडेल्लाले त्यसअघि ‘सन माइक्रोसिस्टम’ नामक कम्पनीमा प्राविधिक कर्मचारीको रूपमा काम गरेका थिए। नडेल्लाले माइक्रोसफ्टको नेतृत्व गर्नुअघि उक्त कम्पनीमा ‘क्लाउड कम्प्युटिङ’ र विश्वकै ठूलो ‘क्लाउड स्टोरेज’जस्ता उत्पादनमा महत्वपूर्ण भूमिका खेलेका थिए।
मास्टरकार्ड र एडोबीमा पनि भारतीयकै बाहुल्य
विश्वव्यापी कम्पनीहरु मास्टरकार्ड, पेप्सीको र एडोबीमा पनि भारतीय मूलकै नागरिकहरू सीईओ छन्। भारतीय मूलकै अजयपाल सिंह भाङ्गा मास्टरकार्डको कार्यकारी प्रमुख हुन्। उनले यसअघि कम्पनीमा अध्यक्ष र सीईओको रुपमा सन् २०१० देखि २०२० डिसेम्बरसम्म काम गरेका थिए। सन् २०२१ को अन्त्यमा आफ्नो पदबाट बाहिरिने घोषणा गरेका उनी भारतीय मूलका ती नागरिकहरुमा पर्छन्, जसले आफ्नो कार्यकालमा निकै सफलता हात पारे।
सफ्टवेयर कम्पनी ‘एडोबी आईएनसी’मा पनि प्रमुख भारतीय मूलकै शान्तनु नारायण छन्। सन् २००७ देखि उनी कम्पनीको सीईओ, प्रमुख र अध्यक्षको रुपमा काम गरिरहेका छन्। सन् २००५ देखि उनले एडोबीमा सिओओ(प्रमुख परिचालक अधिकारी)को रूपमा काम गरेका थिए। भारतको हैदराबादमा जन्मिएका उनी सन् १९८६ देखि प्रविधिको क्षेत्रमा आबद्ध भएर काम गरिरहेका छन्।
आइबीएममा अर्विन्द कृष्ण
विश्वमै पहिलो कम्युटर निर्माण गर्ने कम्पनीको रुपमा चिनिने ‘आईबीएम’मा पनि भारतीय मूलकै नागरिक अर्विन्द कृष्ण सीईओ र अध्यक्ष छन्। अप्रिल २०२० मा कम्पनीको सीईओ बनेका कृष्णले सन् २०२१ जनवरीबाट अध्यक्षको पद पनि सम्हालेका छन्।
भारतको आन्ध्र प्रदेशमा जन्मिएका उनी सन् १९९० बाट आईबीएममा आबद्ध भएका थिए। कृष्णलाई सन् २०१५ मा कम्पनीको वरिष्ठ उपाध्यक्षको रुपमा नियुक्त गरिएको थियो। त्यतिबेला उनले आईबीएमको अनुसन्धान विभाग र ‘क्लाउड’ विभागलाई सम्हालेका थिए। इलेक्ट्रिकल इञ्जिनियरिङमा विद्यावारिधिका लागि अमेरिका गएका उनले त्यहाँ पुगेपछि भने आईबीएममा आबद्ध भएर काम गर्न थाले।
अन्य कम्पनीमा पनि भारतीय
अन्य प्रविधिसम्बन्धी विश्वप्रसिद्ध कम्पनीमा पनि भारतीयहरुको नेतृत्व छ। ‘आरिष्टा नेटवर्क’मा जयश्री उल्लाल, ‘हर्मन इन्टरनेसनल’मा दिनेश पलिवाल, ‘पालो अल्टो नेटवर्क’मा निकेश अरोरा छन्। त्यस्तै ‘कन्फुलेन्ट’मा निशा नर्खेडे, ‘भिमिओ’मा अञ्जली सुद, ‘माइक्रोन टेक्नोलोजी’मा सञ्जय मेहरोत्रालगायत भारतीय मुलका नागरिक नेतृत्व गरिरहेका छन्।
प्रतिक्रिया