काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बाग्मती प्रदेश सभापतिका लागि आइतबार दोस्रो चरणको मतदान हुँदैछ । बिहान ११ बजेदेखि दोस्रो चरणको मतदान सुरु भएको हो ।
पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये इन्द्रबहादुर बानियाँले ४८ प्रतिशत मात्रै मत ल्याएपछि दोस्रो चरणको निर्वाचनबाट सभापतिको छिनोफानो लगाउन थालिएको हो ।
पहिलो चरणको निर्वाचनमा तेस्रो स्थानमा रहेका भीमसेनदास प्रधानले सबैभन्दा धेरै मत ल्याउने बानियाँलाई समर्थन जनाएका छन् । प्रधानले एक सय ९७ मत ल्याएका थिए । उनी कृष्णप्रसाद सिटौला समूहबाट सभापतिमा उम्मेदवारी दिएका थिए । केन्द्रमा सभापति शेरबहादुर देउवा र सिटौलाबीच गठबन्धन छ । दोस्रो स्थानमा मत पाउने संस्थापन इतरका जगदीश्वरनरसिंह केसी र बानियाँबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।
आइतबार बिहान हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रधानले सबैभन्दा बढी मत ल्याएका बानियाँलाई सहमतिमै नेतृत्व दिनुपर्नेमा जोड दिए । उनले भने, ‘सहमतिमै नेतृत्व चयन गरौं । सबैभन्दा बढी मत उहाँ(बानियाँ)ले ल्याउनुभएको छ, उहाँलाई नै सभापति सर्वसम्मत बनाउँदा राजनीतिक न्याय हुन्छ ।’
संस्थापन समूहका नेता एवं सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु अम्बिका बस्नेत, डिना उपाध्याय, सभापतिका उम्मेदवार बानियाँसहितको पत्रकार सम्मेलनमा प्रधानले भने, ‘मतदान गर्ने अवस्था आयो भने पनि मत पाउने अधिकार बानियाँजीलाई नै छ, किनकि उहाँले सबैभन्दा बढी मत ल्याउनुभएको हो ।’
साथै प्रधानले सभापतिमा बानियाँलाई मतदान गर्न आफ्ना समर्थकलाई आग्रह गरे । ‘सम्पूर्ण साथीहरुले उहाँ (बानियाँ) को पक्षमा मतदान गर्न आग्रह गर्छु । उहाँ संसदीय दलको नेता हुनुहुन्छ । भोलि मुख्यमन्त्री बन्दै हुनुहुन्छ । सबै कुरा उहाँको वरिपरी घुमिरहेको छ,’ उनले भने ।
आइतबार बिहान सार्वजनिक मत परिणाममा बानियाँले ९९२ मत ल्याएका थिए भने सभापतिका अर्का उम्मेदवार केसीले ८७२ मत पाए । तेस्रो भएका प्रधानले १९७ मत ल्याएका हुन् ।
प्रतिक्रिया