काठमाडौं, १८ मंसिर । चीनले खेललाई राजनीतिकरण नगर्न चेतावनी दिएको छ। टेनिस खेलाडी पेङ शुआईको विषयलाई लिएर महिला टेनिस संघ (डब्ल्यूटीए)ले चीनका सबै प्रतियोगिता रद्द गरेसँगै चीनले यस्तो चेतावनी दिएको हो।
पेङ गत नोभेम्बरमा तीन सातासम्म बेपत्ता भएकी थिइन्। त्यसपछि उनले भिडियो कलमार्फत सार्वजनिक भए पनि अन्तर्राष्ट्रिय समुदायले भने भिडियो कलमा पर्याप्त नहुने बताउँदै आएका छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भनेका छन्, ‘हामीले यसअघि नै आफ्नो धारणा राखिसकेका छौं। हामी सधैं खेललाई राजनीतिकरण गर्ने कार्यको विपक्षमा रहँदै आएका छौं ।’
यसअघि चीनले यो मामिलालाई विदेश मामिला नभएको बताउँदै आएको थियो। दबाब बढेसँगै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका प्रमुख थोमस बाचले दोस्रोपटक पेङसँग भिडियो कलमा वार्ता गरेका छन्। बाचले आगामी जनवरीमा पेङसँग प्रत्यक्ष भेटघाटको लागि सहमति जुटिसकेको बताएका छन्।
गत नोभेम्बरको सुरुमा पेङले चिनियाँ सामाजिक सञ्जालमा चीनका शीर्ष नेतामाथि बलात्कारको आरोप लगाएकी थिइन्। यद्यपि उनको पोस्ट केही समयमा नै डिलिट गरिएको थियो भने अन्य प्रयोगकर्तालाई पनि यस विषयमा बहसका लागि रोक लगाइएको थियो। त्यसपछि पेङ तीन सातासम्म हराएकी थिइन्। यससँगै चीनमा उनको स्वतन्त्रता र सुरक्षाबारे विश्वभर चासो बढेको थियो।
प्रतिक्रिया