काठमाडौं, १४ मंसिर । सौराहामा जारी नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन सम्पन्न भएपछि केहीबेर अघिदेखि मतगणना सुरु भएको छ । यो समाचार तयार गर्ने बेला सम्ममा अध्यक्षमा केपी शर्मा ओलीले १९६ मत प्राप्त गरेका छन् भने भिम रावलले २२ मत प्राप्त गरेका छन् ।
एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिए पनि केही ढिला भएको जानकारी दिए ।
बिहान ११ बजे मतदान सकिएपछि केही बेर अगाडि मात्रै मुचुल्काको काम सकिएको,मतगणना सुरु गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको छ । एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए । महाधिवेशनअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो । निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको दाहालले बताए । महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।
प्रतिक्रिया