काठमाडौं , १२ कात्तिक । विभिन्न स्थानबाट, विभिन्न मितिमा हराएका २३ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले सम्बन्धित धनीलाई बुझाएको छ ।
महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाइएको हो । गत कार्तिक महिनामा पनि महाशाखाले २३ वटै मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको थियो ।
आज यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई उपत्यका र आसपासका चक्रपथ, नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागर्जुन, सातदोबाटो, कोटेश्वर, काडाँघारी, कंलकी, भैसेपाटी, भिमसेनगोला, गंगालाल, लोकन्थली, कपन, सानेपा, माकलबारी, मंगलबजार, टोखा, विजेश्वरी, र चागल स्वयम्भुलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी जिम्मा लगाए । महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले विशेष सूचना संकलन तथा सुराकीमार्फत ती मोटरसाइकल वरामद गरेको एसएसपी जनक भट्टराईले जानकारी दिए।
यस आर्थिक वर्ष ०७८/७९ मा हराएका १७६ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको र मोटरसाईकल चोरीमा संलग्न २१ जनालाई चोरीका मोटरसाईकल सहित सम्बन्धित प्रहरी वृत्तहरुमा कारबाहीको लागी पठाएको समेत महशाखाले जनाएको छ । सवारी हराएको थाहा पाउनासाथ हटलाईन नम्बर ‘१०३’ वा अनलाईन सेवा ‘लस्ट भेहिकल एप्लिकेशन’ लगइन गरेर निवेदन दिन सकिने साथै आफ्नो सवारीको सुरक्षाका लागि अतिरिक्त लक र अलाराम प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अपिल गरेको छ ।
प्रतिक्रिया