सर्वसम्मत नेतृत्व छान्न भन्दै नाराबाजी


काठमाडौं, ११ मंसिर । सर्वसम्मत नेतृत्व छान्न भन्दै नेकपा एमाले १० औं महाधिवेशनका प्रतिनिधिले बन्द सत्रस्थल बाहिर नाराबाजी गरेका छन् । गएराति भीम रावल, घनश्याम भुसाल लगायतका केन्द्रीय सदस्यले पदाधिकारीमा उम्मेदवारी दिने घोषण गरेपछि प्रतिनिधिले सर्वसम्मतका लागि दबाब दिन नाराबाजी गरेका हुन् ।

एमालेको १० ‌औं महाधिवेशन चितवनमा जारी छ । शुक्रबारबाट सुरु भएको महाधिवेशन आइतबारसम्म चल्ने तालिका छ ।महाधिवेशन उद्घाटन समारोहपछि चितवनको सौराहामा मध्यरातसम्म बसेको साविक केन्द्रीय कमिटी बैठकले नेता व्यवस्थापनमा सकस परेपछि पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्दै ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्णय गरेको थियो। विधानतः २ सय २५ सदस्य हुने केन्द्रीय कमिटीमा ७६ सदस्य थपिने भएका छन् ।सर्वसम्मत नेतृत्व चयन गर्न पदाधिकारी संख्या बढाइए पनि पार्टीका मुख्य पद वरिष्ठ उपाध्यक्ष र महासचिवमा चुनाव हुने सम्भावना टरेको छैन ।

मध्यरातसम्म बसेको साविक केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो पनि ब्युँताउने निर्णय गरेको थियो ।एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार उपाध्यक्षमा दुई र उपमहासचिवमा दुई जना थप्ने निर्णय भएसँगै अब एमालेमा १९ जना पदाधिकारी हुनेछन् । अब पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव हुनेछन् ।दुई महिनाअघि भएको विधान महाधिवेशनबाट संशोधित विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवसहित १५ जना पदाधिकारी राख्ने विधान पारित गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति