काठमाडौं, १० मंसिर । आईसीसी महिला टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो चौथो खेलमा शुक्रबार नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।लगातार तेस्रो जितपछि ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लेको छ । युएई समान अंक भएपनि नेट रनरेटमा अघि रहँदै नेपाल शीर्ष स्थानमा उक्लेको हो। युएईले आजै कुवेतसँग खेल्दैछ ।दुबईस्थित आइसीसी एकेडेमी मैदानमा भएको खेलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८.२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो।
नेपालको लागी सीता राना मगरले ३०, कप्तान रुबिना क्षेत्रीले २० र कविता कुँवरले १० रन बनाए । सरिता मगरले अवपजित १५ रन जोडिन् । नेपालका ३ खेलाडी रनआउटको शिकार हुँदा मलेसियाका अईसा एलिसाले १ विकेट लिइन् ।त्यसअघि नेपालले टस जितेर बलिङ रोज्दै मलेसियालाई ब्याटिङको निम्तो दिएको थियो । जसमा मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो।मलेसियाका लागि एल्सा हन्टरले अविजित रहँदै सर्वाधिक ३९ रन बनाइन्। नेपालका लागि सबनम राईले २ तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले समान १ विकेट लिए ।नेपालले अब युएईसँग खेल्न बाँकी छ । पहिलो खेलमै हङकङसँग पराजित भएको नेपालले त्यसयता भुटान र कुवेतलाई सहजै पराजित गरेको थियो।
प्रतिक्रिया