महाधिवेशनमा अध्यक्षले ओलीले गरे जल, स्थल र अन्तरिक्षसम्मको चर्चा

काठमाडौं, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दसौँ महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै जल, स्थल र आकाशसम्मको चर्चा गरेका छन् ।

देश विकासका लागि एमालेले नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गर्दै उनले जल, स्थल र आकाश गरी तीनै क्षेत्रमा आफ्नो नेतृत्वको तत्कालीन सरकारले विकासको जग बसालेको दाबी गरे ।पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले तुइन विस्थापित गर्नेदेखि लिएर भूकम्पले ध्वस्त पारेका संरचना पुनर्निर्माण गर्नेसम्मका काम आफ्नो नेतृत्वको सरकारले गरेको बताए । आफ्नो नेतृत्वको सरकारले पहिलो पटक अन्तरिक्षमा देशको स्याटेलाइट पठाएको उल्लेख गर्दै उनले भने, ‘भूपरिवेष्ठित मुलुकको रूपमा रहेको नेपाललाई भूजडित नेपालको अवस्थामा हामीले पुर्‍याएका छौँ ।’आफूहरूले नेपालको विकास गर्ने मात्र नभनेर नेपालको अवधारणा नै परिवर्तन गरेको उनले बताए । उनले भने, ‘हामीले भनेका छौँ समुन्द्र पनि हाम्रो हो । अन्तरिक्ष पनि हाम्रो हो ।

समुन्द्रमा हामी पुग्न सकेका छैनौँ तर म साथीहरूलाई स्मरण गराउन चाहन्छु हामीले धर्तीको अर्विट छेडेर सानो भए पनि भूउपग्रह अन्तरिक्षमा पठाएका छौँ । त्यसमा सफलता पाएका छौँ ।’ अब ठूलो उपयुक्त साइजको भूउपग्रह अन्तरिक्षमा पठाउने उनको भनाइ थियो ।उनले जमिनमुनि तार बिछ्याएर ‘फोर जी’ सुरु गरिएको चर्चासमेत गरे ।

उनले समुन्द्रमा आफूले नेपालको हक छ भनेर पहिलो पटक दाबी गरेको पनि बताए । जलमार्गको बारेमा भारतसँग आफूले छलफल गरिरहेको उनले बताए ।ओलीले देशमा ढिलोचाँडो तीनै तहको निर्वाचन हुने भन्दै देशको स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि आगामी निर्वाचनमा एमालेलाई बहुमत चाहिएको बताए । उनले संविधानको रक्षा र कार्यान्वयन, संविधानको गलत व्याख्यालाई जनअभिमतबाट सच्याएर अघि बढ्नका लागि एमालेले बहुमत ल्याउनुपर्ने बताए ।ओलीले आफूलाई अप्ठ्यारा पार्नेहरूले नै आज प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समातिरहेको चर्चा पनि गरे ।ओलीले भने, ‘अहिलेको सकारबारे म केही भन्न चाहन्न ।

उहाँ (प्रधानमन्त्री देउवा)लाई हामीले आमन्त्रण गरेका छौँ । प्रधानमन्त्रीलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्न वाञ्छनीय हुँदैन । प्रधानमन्त्रीज्यू सायद काम गर्न चाहनुहुन्थ्यो कि ? तर प्रधानमन्त्रीज्यूलाई काम गर्न गाह्रो छ कि ? मलाई अप्ठेरो पार्ने, मेरो खुट्टा तान्नेहरूले आज उहाँका खुट्टा समातिरहेका छन् । त्यसकारण उहाँलाई पनि गाह्रो छ कि ?’ उनले हँसिया–हथौडा बोकेर आफूलाई कम्युनिस्ट भन्नेहरूले वामपन्थी सरकार ढाल्दै दक्षिणपन्थी सरकार बनाएको भन्दै उनीहरूलाई हँसिया हथौडा फ्याँक्न सुझावसमेत दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति