काठमाडौं, ९ मंसिर । सर्वोच्च अदालतमा बिहीबार दिउँसोका लागि डाकिएको ‘फुलकोर्ट’बैठकअघि दुईवटा बार अध्यक्ष र कात्तिक ८ देखि आन्दोलित न्यायाधीशहरूबीच छलफल भइरहेको छ। दिउँसो २ बजेका लागि डाकिएको ‘फुलकोर्ट’बैठकअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनरत दुई पक्षबीच छलफल भएको हो। छलफलमा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्बोच्चमा बार अध्यक्ष पूर्णमान शाक्य सहभागी छन्।
उता सर्वोच्चका आन्दोलित सबै न्यायाधीश छलफलमा सहभागी छन्। सर्वोच्चमा मात्रै चलाइएको आन्दोलनबाट प्रधानन्यायाधीश जबरा टसमस नभएपछि बारसम्वद्ध वकिलहरूले विभिन्न पेशा व्यवसायीहरूसँग मिलेर बिहीबारै दिउँसो २ बजेदेखि बालुवाटारसम्म मार्च पास गर्दैछन्। बारको आन्दोलनबीच सर्वोच्च अदालतमा आगामी मंसिर १५ देखि गोलाप्रथाबाट मुद्दा सुनुवाइ अघि बढाउने निर्णय न्यायाधीशहरूले गरिसकेका छन्। सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि आन्दोलित न्यायाधीशहरुको समूहले मंसिर १५ देखि गोलाप्रथालाई कार्यान्वयनमा लैजाने निर्णय लिएका थिए।
गोलाप्रथा कार्यन्वयन गर्ने निर्णय गरेका न्यायाधीशहरूबीच बिहीबार दिउँसो २ बजे फुलकोर्ट बैठक राख्ने निर्णय यसअघि नै गरेका थिए। गोलाप्रथासम्बन्धी नियम लागु भएपछि सर्वोच्चमा प्रधानन्यायाधीशको अधिकार कटौती हुने भएको छ। यो नियम लागु गर्न यसअघि नै सर्वोच्च अदालत नियमावली दोस्रो संशोधन सोमबार राजपत्रमा प्रकाशित भइसकेको छ।
प्रतिक्रिया