काठमाडौं, ९ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनलगायतले आज (बिहीबार) सर्वोच्च अदालतबाट बालुवाटारसम्म ‘मार्च पास’ गर्दै छन् ।प्रधानन्यायाधीश बहिर्गमनको माग राख्दै करिब १ महिनादेखि आन्दोलनरत बारले आयोजना गरेको ‘मार्च पास’ मा नागरिक समाजलगायत विभिन्न निकायहरू सहभागी हुँदैछन् ।बार एसोसिएसन, सर्वोच्च बार एसोसिएसन, पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, चिकित्सक संघ आदिवासी–जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनले ब्यानरसहितको मार्च पास गर्न लागेका हुन् । उक्त मार्च पासलाई ‘बालुवाटार न्याय मार्च’ नाम दिइएको छ । मार्च पासमा सहभागी हुन बारले सर्वसाधारणहरूलाईसमेत आग्रह गरेको छ ।
प्रधानमन्त्रीलाई भेट्ने योजना
करिब एक घण्टा धर्ना दिने कार्यक्रमपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने योजनामा आफूहरू रहेको बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् । ‘अहिले समय फिक्स भइसकेको छैन तर सकेसम्म उहाँलाई भेट्ने प्रयास गर्ने छौँ ।’उनले भने ।
सर्वोच्च अदालतमा गर्दै आइएको दैनिक धर्ना सकेर बालुवाटार जाने बारको तयारी छ । उनले भने,‘सर्वोच्च अदालत परिसरमा नियमित रूपमा गर्दै आएको दुई घण्टे विरोध प्रदर्शन सकेर बालुवाटार जान्छौँ ।’दिउँसो २ बजेदेखि करिब १ घण्टा धर्ना दिने र उक्त समयमा केही वक्ताहरूले आफ्नो भनाइ राख्ने कार्यक्रमसमे रहेको उनले बताए ।
प्रतिक्रिया