पतञ्जलि टिभी : भवन उद्घाटन गरेर ‘टेलिभिजन’ भनिएको सरकारी निश्कर्ष

काठमाडौं, ८ मंसिर। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गरेको ‘पतञ्जलि नेपाल’ र ‘आस्था’ टेलिभिजनले अहिलेसम्म कुनै प्रसारण उपकरण नल्याएको भेटिएको छ ।

सूचना तथा प्रसारण विभागले प्रसारण अनुमतिपत्र र पूर्वप्रसारण अनुमति समेत नलिई टेलिभिजन उद्घाटन भएपछि एक समिति बनाएर अध्ययन गरेको थियो ।विभागका निर्देशक सुदीप भट्टराई संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा अहिलेसम्म पतञ्जलि टेलिभिजन खोल्न कुनै तयारी नै नगरेको उल्लेख छ ।विभागका महानिर्देशक गोगनबहादुर हमालले टेलिभिजनले अहिलेसम्म स्टुडियो नै तयार नभएको पाइएको बताए । अनुमतिपत्रविना नै प्रसारण उपकरणहरु ल्याएको र जडान गरेको भेटिएमा जफत हुने कानूनी व्यवस्था छ । तर, भवन मात्रै उद्घाटन गरेर ‘टेलिभिजन’ भनिएको सरकारी निश्कर्ष छ ।‘अनुमतिविना उपकरण ल्याएको र टेलिभिजन चलाएको पाएपछि कारवाही गर्नुपर्ने देखिएन,’ महानिर्देशक हमालले भने ।

गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसमेतले ‘टेलिभिजन’ उद्घाटन गरेका थिए । भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा टेलिभिजन उद्घाटन भएपछि यसको वैधताबारे प्रश्न उठेको थियो । मण्डिखाटारमा रहेको टेलिभिजनको कार्यालयमा आइतबार नै सरकारको अध्ययन समितिले आकस्मिक निरीक्षण गरेको थियो ।टेलिभिजनले अहिलेसम्म प्रसारण विभागमा अनुमतिका लागि प्रक्रिया थालेको छैन ।

तर, विवाद भएपछि अनुमति लिने प्रक्रिया बुझ्न भने पतञ्जलि योग पीठ नेपालका अधिकारीहरु विभागमा पुगिसकेको महानिर्देशक हमालले बताए ।टेलिभिजनबारे विवाद भएपछि पतञ्जलि योगपीठ नेपालले योगगुरु रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा शुभसाइतका लागि टेलिभिजनको कार्यालय भवनको मात्र उद्घाटन गरिएको दावी गरेको थियो ।

अध्ययन समितिका एक सदस्यले भने प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीलाई गलत सूचना दिएर कार्यक्रममा लगिएको पाइएको बताए ।‘प्रधानमन्त्रीलाई उद्घाटन कार्यक्रम भनेर झुक्याएबापत विभागले कारवाही गर्न मिल्दैन, त्यसलाई अन्य कानुनका पक्षबाट हेर्नुपर्ने हुनसक्छ,’ उनले भने, ‘प्रधानमन्त्री कार्यालयले नै चासो लियो भने पतञ्जलिलाई कारवाही गर्न सकिन्छ पनि होला ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति