काठमाडौं, ८ मंसिर । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङबारेको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तामाङसहित १२ जनालाई १८ असोजमा ठगी मुद्दामा पक्राउ गरेको थियो ।पछि तामाङले संगठित रूपमा ठगी गरेको खुलेपछि सीआईबीले उनीविरुद्ध संगठित ठगी मुद्दा चलाएर अनुसन्धान गरेको थियो ।प्रहरीलाई संगठित अपराध अनुसन्धान गर्न अदालतले ६० दिनको सयमसीमा दिने कानुनी व्यवस्था छ । सोही व्यवस्थाका आधारमा उनीमाथि प्रहरीले दुई पटक म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो । सो सीमा सकिन आठ दिन मात्र बाँकी छ ।
सीआईबीका प्रवक्ता एसपी श्याम महतोले तामाङमाथिको अनुसन्धान प्रतिवेदन प्रहरीले ६० दिनको समयसीमा सकिनुअघि नै सरकारी वकिलको कार्यालयमा पेस गर्ने तयारी गरेको बताए ।सीआईबीका अनुसार सकेसम्म यही साताको शुक्रबारसम्म मुद्दा बुझाउने गृहकार्य सीआईबीले गरेको छ । प्रहरीका अनुसार तामाङविरुद्ध १ हजार ४ सय ८७ जनाले उजुरी दिएका छन् ।उनीहरूले तामाङको सिभिल सहकारीमा जम्मा गरेको कुल ५ अर्ब ६३ करोड २६ लाख रकम अपचलन गरेको खुलेको छ ।
बचतकर्ताले तामाङको सिभिल सहकारीमा राखेको रकम भने उनी आफैँले सञ्चालन गरेका अन्य विभिन्न कम्पनीमा लगानी गरेको देखिएको हो ।सहकारी ऐन २०७२ अनुसार सहकारीका सबै लगानी एकै ठाउँमा केन्द्रित गर्न नपाइने व्यवस्था छ। तर, उनले ऐनविपरीत सिभिल सहकारीबाहेक अन्य २१ वटा कम्पनीमार्फत रकम हिनामिना गरेका हुन् । जसमध्ये अधिकांश कम्पनी तामाङले सिभिल सहकारीको रकम अपचलन गर्न ‘डमी’ को शैलीमा खोलेका थिए । ती कम्पनी देखाएर सहकारीका सबै लगानी तामाङले प्रयोग गरेका हुन् ।सिभिल सहकारीका बचतकर्ताको रकममध्ये सहकारीको ८० प्रतिशत लगानी तामाङले सिभिल होम्समार्फत खर्च गरेका थिए । तामाङले बचतकर्ताको रकम विभिन्न ठाउँमा लगानी गरेपछि घाटामा गएको बयान प्रहरीलाई दिएका छन् । तर, सीआईबी स्रोतका अनुसार तामाङले सिभिल होम्सबाट घाटामा गएको देखिने प्रमाण उनीसँग छैन ।
तामाङको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार उनले सहकारीमार्फत पीडितको अपचलन गरको रकमबराबरको सम्पत्ति उनकै विभिन्न कम्पनीमा रहेको देखिएको छ ।‘तामाङको विभिन्न २१ वटा कम्पनीमा रहेको चल अचल सम्पत्तिको मूल्याङ्कन गर्दा अपचलन गरेको करिब ६ अर्ब रकम उनकै कम्पनीमा देखिन्छ । त्योबाहेक उनले सम्पत्ति लुकाउन कानुनी रूपमा डिभोर्स गरेकी सिर्जना तामाङको नाममा समेत राखेको देखिन्छ,’ ती अधिकारीले भने ।
प्रहरीका अनुसार तामाङले कानुनी रूपमा सिर्जनासँग डिभोर्स गरे पनि उनीहरूसँगै बस्दै आएको खुलेको छ । प्रहरीको अनुसन्धानले सिर्जनाको नाममा जोरपाटीमा ४१ रोपनी जग्गा र कीर्तिपुरमा ९ रोपनी जग्गा रहेको खुलेको छ ।यसअघि प्रहरीले उनले अर्बौंको सम्पत्ति नेपालबाहिर लुकाएको आशंका गर्दै त्यसबारेसमेत अनुसन्धान गरेको थियो । तामाङले २०५८ सालदेखि नै सिभिल होम्स निर्माण र बिक्रीवितरणको काम थालेका थिए ।प्रहरीले तामाङमाथि सिभिल सहकारीको अध्यक्ष हुँदादेखि हालसम्म उनले गरेका निर्णयहरूको फाइलको अनुसन्धान गरेको छ ।
प्रतिक्रिया