मेरिल्याण्डमा गाडीको ठक्करबाट आईओएममा कार्यरत नेपाली महिला बर्खा खड्का प्रसाईको निधन

काठमाडौं, ८ मंसिर ।  अमेरिकाको मेरिल्याण्डको प्रिन्स जर्ज काउन्टीमा गाडीको ठक्करबाट ४० बर्षीया नेपाली महिला बर्खा खड्का प्रसाईको निधन भएको छ । सपर्स वे मा मेडिकल सेन्टर ड्राइभ पार गर्न लाग्दा प्रसाईलाई गाडीले ठक्कर दिएको थियो भने गाडी सहित घटनास्थलबाट फरार चालकलाई पछि प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटना सोमबार बेलुका ७ बजे भएको थियो ।

तत्कालै नजिकको अस्पतालमा लगिएपनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । नेपालमा झापाको बुद्धशान्ती गाउँपालिका स्थायी घर भएकी प्रसाई अमेरिकाको मेरिल्याण्डमा नै बस्दै आएकी थिइन् ।इन्टरनेशल अर्गनाइजेशन फर माइग्रेशन आईओएममा कार्यरत प्रसाई दुईमहिना अगाडिमात्र आईओएम अन्तरगत अमेरिकामा काम गर्नका लागि आएकी थिइन् । सुरुमा अफगानिस्तानबाट आएका शरणार्थीहरुको कामका लागि भर्जिनियाको फोर्टलीमा रहेको आर्मी क्याम्पमा खटाइएको थियो ।उनको अवधि थप गरेर मार्चसम्मका लागि वासिंटन डिसीमा रहेको आईओएम मुख्यालयमा खटाइएको थियो ।

गतसातादेखिमात्र वासिंटन डिसीको मुख्यालयमा काम गर्न थालेको पारिवारिक श्रोतले जनाएको छ । प्रसाईलाई मेरिल्याण्डमा आफन्तकोमा बसेर घर फर्कने क्रममा ट्रेनबाट निस्केर बाटो क्रस गर्नलाग्दा गाडीले ठक्कर दिएको हो ।अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत कर्मचारीहरुलाई प्रदान गरिने जी भिसामा अमेरिकी आएकी बर्खा खड्का प्रसाईका श्रीमान मदन प्रसाई नेपालमै रहेका छन् । शव नेपालमा नै पठाउने तयारी भइरहेको र भोलि फ्युनेरल होममा लगिने पारिवारिक श्रोतले जानकारी दिएको छ । पारिवारिक श्रोत अनुशार शव नेपाल पठाउनका लागि मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले सहयोग गरिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति