महोत्तरी, ६ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले आज महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना गरेका छन् ।
आज राष्ट्रपति भण्डारी पूजाअर्चना र दर्शनका लागि यहाँ आउने भएपछि नेपाली सेनाले गुफाबाट पानी बाहिर निकालिएकाे र उनले गुफागृहमै प्रवेश गरेर पूजाअर्चना गरेका थिए । जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतह देखि १६ सिंढीमुनि जमिनभित्र रहेको छ । यहाँ चौबिसै घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षभरि नै जलमै विराजमान रहकाे मान्यता छ ।
त्यस अवसरमा राष्ट्रपति भण्डारीले उक्त मन्दिरका मूल पूजारी उपेन्द्र पाठकका हातबाट टीका तथा प्रसाद ग्रहण गरेका थिए । यहाँ महादेवको शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतिक्षा गर्नुपर्दछ । यस मन्दिरभित्र करिब २० फिट मुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्र सम्भव हुने गर्दछ । उनकाे पूजाअर्चनाका लागि जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्र, सो मन्दिरका मूल पुजारी र पदाधिकारी तथा स्थानीयले स्वागत गरे ।
प्रतिक्रिया