काठमाडौं, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठवन्धनका केही दल कांग्रेसको औंला नसमाती हिँड्नै नसक्ने आरोप लगाएका छन् । उनले आगामी चुनावमा एमाले कसैको वैशाखी नटेकी हिँड्ने र विजय हासिल गर्ने दावी गरे ।
नेपाल सम्वतका अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले १० वटै दल एमालेविरुद्ध एकजुट भएर आए पनि फरक नपर्ने बताए । उनले भने, ‘एमाले सिध्याउँछु भनेर पाँच होइन, १० वटै दल आए पनि एमालेलाई केही फरक पर्नेवाला छैन ।’
आफ्नो सरकार ढालेर कांग्रेसको औंला समातेर हिँड्नेहरुले चुनावसम्म गठबन्धन रहने कुरा गरिरहेको ओलीले बताए । ओलीले भने ‘अव अरु फाँचफुच्चेहरु चाँहीसँगै जान्छौं भन्छन । अनि काँग्रेसको औंला नसमाति त हिँडनै सक्दैनन् त, कसरी जाँदैनन् ? गईहाल्छन नि सँगसँगै । आफ्नो सरकार ढालेर काँग्रेसको सरकार बनाई दिनेहरु, काँग्रेसको आंंैला समातेर हिँडन पल्केकाहरु, त्यो हिँडन खोज्छन नै । तर काँग्रेसले कहिलेसम्म औंला दिन्छ, मलाई थाहा छैन । तर नेकपा एमाले कसैको बैशाखी टेकेर होईन, आफै चुनाव लडन सक्षम छ । आफैं चुनाव लड्छ, आफंै जित्छ । नेपाली जनताले देखेका छन–नेकपा एमाले बल्ल सुद्धिकृत, शुद्ध बनेको, फोहोर नभएको, फोहोर फालिएको । त्यस्तो एमाले बनेको छ । त्रिशुलीमा हामी देख्छौं–कहिलेकहिले फोहोर त्रिशुलीको बीचमा खसेको हुन्छ ।
झारपातहरु परेको हुन्छ, त्यहाँ । त्यो पानीले, छालले बगाउँदैबगाउँदै किनारामा लान्छ । नेकपा एमालेबाट पनि किनारामा गईसकेको कुडाकर्कटहरु, फोहोरहरुविनाको स्वच्छ एमाले छ । त्यो स्वच्छ एमाले एकमना एकताका साथ सुदृढ एकताका साथ अगाडि बढछ । यसले विजय हासिल गर्छ । र यो राष्ट्र निर्माणको काममा अगाढि बढछ । यो जरुरी छ । किन जरुरी छ भने–यो देश यही अवस्थामा राखिरहन सकिदैन । यसलाई अगाढि बढाउनै पर्छ ।’
आफ्नो पार्टी एमाले अहिले फोहोरहरु पन्छिएर सफा बनेको ओलीले बताए । एमाले अब सदृढ एकताका साथ अगाडि बढ्ने भन्दै उनले एक्लै चुनाव लडेर जित्ने दावी पनि गरे ।
प्रतिक्रिया