कतारमाथि नेपालको क्लिन स्विप

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा क्लिन स्विप गरेको छ ।दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा बिहीबार भएको तेस्रो तथा अन्तिम टी- ट्वान्टीमा कतारलाई १ सय ९ रनले हराउँदै नेपालले सिरिज ३-० ले आफ्नो बनाएको हो । नेपालले आफ्नो पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिजमै क्लिन स्विप गर्दै ऐतिहासिक सफलता हात पारेको हो ।

यस अघि नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो । नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउन केवल ५५ रन जोड्न सक्यो ।

उसका लागि अलिना खानले सर्वाधिक १९ र कप्तान अयेशाले १३ रनको योगदान गरे । नेपालका लागि कप्तान रुबिना क्षेत्री, सरस्वती कुमारी चौधरी र सवनम राईले समान १र१ विकेट हात पारे ।

यस अघि नेपालले ब्याटिङ गर्दै नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६४ रनको कीर्तिमानी योगफल बनाएको थियो ।

टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले बनाएको हालसम्मकै उच्च योगफल हो । नेपालको लागि सिता राना मगरले अविजित रहदै ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन् ।

सिताले ७२ बलमा ७ चौका प्रहार गरिन् । सिताको यो पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय अर्धशतक हो । यस्तै ज्योति पाण्डेले २४ तथा डोली भट्टले १२ रन बनाईन् । काजल श्रेष्ठ १२ रनमा आउट भईन् । सरिता मगर १७ रनमा अविजित रहिन् ।

कतारकी एन्जेलिन मारे, साची ढाटवाल र आयशले १र१ विकेट लिईन् । आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेलिरहेको हो । विश्वकप छनोट भने नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ ।

नेपाली टिम कतारबाटै शुक्रबार दुबई प्रस्थान गर्ने छन् । छनोटमा ६ टिम सहभागी छन् । जसमा नेपालसहित युएई, हङकङ, भुटान, कुवेत र मलेसियाले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले हङकङसँग नोभेम्बर २२ मा खेल्नेछ । नेपालले दोस्रो खेल भुटानविरुद्ध २३ तारिखमा खेल्ने तालिका रहेको छ । त्यसैगरी नेपालको तेस्रो खेल कुवेतविरुद्ध २५ तारिखमा हुनेछ । नेपालले आफ्नो चौथो खेल मलेसियासँग २६ तारिख तथा पाँचौ खेल २८ तारिखमा युएईविरुद्ध खेल्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति