काँग्रेस नेता पौडेल र सिंहबीच चाक्सीबारीमा छलफल

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच बिहीबार छलफल भएको छ । पौडेलसँग सिंह असन्तुष्ट रहेको खबर बाहिर आइरहेका बेला बिहीबार पौडेल सिंहको निवास चाक्सीबारी पुगेका हुन् । पौडेल र सिंह मंसिर २४ देखि २६ सम्म हुने १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन् ।

महाधिवेशनमा सर्वसम्मत उम्मेदवार तय गर्ने घोषणा गरेका पौडेल समूहभित्र सभापतिका आकांक्षीले एक्लाएक्लै तयारी अगाडि बढाएपछि नेताहरुबीच संवाद टुट्दै गएको थियो ।बिहीबारको छलफलमा सभापति पदमा दुबैले आआफ्नो अडान राखेका छन् । नेता पौडेलले संस्थापनइतर समूहलाई एक ढिक्का राख्न आफू सभापतिको उम्मेदवार बन्नुपर्नेमा जोड दिएका उनका एक सहयोगीले बताए ।तर नेता सिंहले आफूले सभापतिको तयारी अगाडि बढाइसकेकाले पौडेललाई अभिभावक भएर बस्न आग्रह गरे । ‘रामचन्द्र दाइ आउनुभएको थियो, मैले तपाईं अब अभिभावक भएर बस्नुस् भनेँ,’ बिहीबार काठमाडौंमा सम्पादकहरुसँगको अन्तर्क्रियामा नेता सिंहले पौडेलसँगको भेटबारे भने, ‘मैले तयारी अगाडि बढाइसकेँ ।

म पछि हट्दिन भनेको छु ।’पौडेल समूहबाट सभापतिका लागि पौडेलसहित महामन्त्री, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला आकांक्षी छन् ।पौडेल समूहले वडा अधिवेशनको अघिल्लो दिन १७ असोजमा पत्रकार सम्मेलन गरी महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने घोषणा गरेको थियो । तर महाधिवेशन नजिकिएसँगै पौडेल समूहका सभापतिका आकांक्षीहरुले एक्लाएक्लै तयारी अगाडि बढाएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति