संविधान संशोधन प्रस्ताव पारित हुन नदिने सबभन्दा ठूलो खलनायक ओली थिए : अध्यक्ष प्रचण्ड


काठमाडौं, १ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले केपी शर्मा ओली नेतृत्वको एमाले मधेस र राष्ट्रविरोधी भएको आरोप लगाएका छन्।

बुधबार महोत्तरीको रामगोपालपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले मधेसीको अधिकारका लागि आफू प्रधानमन्त्री छँदा दुई पटक संविधान संशोधन प्रस्ताव दर्ता गराएको तर ओलीको कारण पारित हुन नसकेको दाबी गर्दै पारित नहुन्जेल लडिरहने प्रतिबद्धता जनाए। ‘मधेसीलाई अधिकार दिइएको छैन भनेर मैले दुई पटक संशोधन प्रस्ताव राखें तर त्यतिखेर केपी ओली र एमाले गुटले पारित हुन दिएन। एमाले मधेसी जनता र नेपाल राष्ट्र विरोधी पार्टी हो।

प्रस्ताव पारित हुन नदिने सबभन्दा ठूलो खलनायक केपी ओली थिए,’ उनले भने। मधेसको चुरे दोहन गरेर विदेशमा गिट्टी, बालुवा बेच्न चुरे दोहनको नीतिसमेत एमालेले नै ल्याएको उल्लेख गर्दै उनले केपी ओली नै मधेसको भिलेन भएको तर्क गरे। ‘हामीले चुरे दोहन हुन दिन्नौं। मधेसको पहिचान, मुद्दा र समस्यालाई माओवादीले मात्र सम्बोधन गर्न सक्छ,’ उनले थपे।

घुँडा टेकेर महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताले मधेस विरोधी ओली सरकारमा सहभागी भएकाले अब को मधेसी पक्षधर रहेको स्पष्ट हुन उनले आग्रह गरे। महतो–ठाकुरलाई विदेशी शक्तिले सिंगारपटार गरेर पठाइएको मान्छेको प्रचण्डले संज्ञा दिए। अर्बौ रुपैयाँ खर्च गरेर माओवादीलाई मधेस विरोधी पार्टीको रूपमा कुप्रचार गरिएको उनको भनाइ थियो।

‘हामीले शान्ति प्रक्रियामा आएर निर्वाचनको तयारी गरिरहँदा आम जनतामा परिवर्तनप्रति आकर्षण थियो निकै ठूलो लहर थियो। तर प्रतिक्रियावादी, सामन्ती, भ्रष्ट र घुसखोरलाई सह्य भएको थिएन,’ उनले थपे, ‘देशमा निकै ठूलो षडयन्त्र भयो। जसले संघीयताका लागि, स्वायत्त मधेस प्रदेशका लागि राष्ट्रिय मुक्ति मोर्चा बनाएर मधेसीलाई दोस्रो दर्जाको नागरिक मान्ने राज्यविरूद्ध आन्दोलन गर्यो, त्यो पार्टीलाई करौडौं होइन अर्बौ खर्च गरेर मधेस विरोधी घोषणा गर्ने षडयन्त्र गरियो। संघीयता छोड्यो भनेर प्रचार गर्यो।’ अगामी चुनावमा माओवादी मधेसमा सबभन्दा ठूलो पार्टी बन्नुपर्ने उनले सुनाए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति