राजनीति गर्दा ऋण लागेपछि भट्ट अकबरेतिर

गोरखा, १ मङ्सिर । दिनहुँजसो राजनीतिक कर्ममा समय बिताउने गरेका गण्डकी गाउँपालिका–४, फुजेलका जीतबहादुर भट्टको दैनिक अहिले फेरिएको छ । सधैँ बिहान उठ्ने बित्तिकै गाउँमा सभा, सम्मेलन, बैठक र भेलामा दौडिने गरेका उनी आजभोलि ती सबै काम छोडेर घर नजिकै सुरु गरेका अकबरे खुर्सानीको खेती गरेको ठाउँमा पुग्छन् । अलिअलि कमाएको पैसा पनि राजनीति गर्दागर्दै सकिएपछि ऋण डुबेका भट्टले अहिले गाउँमै करिब एक सय १७ रोपनी क्षेत्रफल जमिन भाडामा लिएर अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरेका हुन् ।

उनले सुरु गर्नुभएको अकबरे खुर्सानीको खेती प्रदेशभित्र निजीस्तरमा ठूलो क्षेत्रफलमा गरिएको अहिलेसम्मकै ठूलो अकबरे खुर्सानीको व्यावसायिक खेती हो । “व्यापार र राजनीतिले जीवनको सबै कमाई गुमाएपछि म आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि पेसा सुरु गरेको छु”, उनले भने, “अब राजनीतिभन्दा कृषि पेसामा नै बढी आनन्द आउन थालेको छ ।” उनले अकबरे खेती सुरु गरेसँगै प्रदेशस्तरमा तालिम लिने अवसर पाए । तालिममा सहभागी क्रममा प्रदेशमा अहिलेसम्म त्यति ठूलो स्तरमा निजी क्षेत्रबाट अकबरे खुर्सानीको व्यावसायिक खेती अन्यत्र नभएको जानकारीसमेत पाएपछि आफूमा झनै उत्साह बढेको उनकाे भनाइ छ । किसान भट्टले व्यावसायिक रुपमा खेती सुरु गर्नका लागि आफ्नोसँगै सहित छिमेकीको जमिन भाडामा लिएका छन् । राजनीतिमा समेत लागेर लामो समयसम्म काम गरेका उनले राजनीतिले खान नदिने भएकाले अहिले कृषि कर्ममा जोडिएको बताए ।

“गोरखा र काठमाडौँमा समेत व्यापार थियो तर राजनीतिले सबै सकियो”, उनले भने, “केही उपाय नभएपछि अहिले फेरि गाउँ फर्किए र कृषि पेसा सुरु गरेँ ।” उक्त जमिनमा करिब ७५ हजार बेर्ना लगाएकामा करिब ४६ हजार बोटमा उत्पादन सुरु भएको उनले बताए । “सारेका मध्ये २९ हजार बेर्ना सरेन”, उहाँले भन्नुभयो, “सरेका बोटहरुबाट अहिले राम्रो उत्पादन हुन थालेको छ ।” भाडामा लिएको जमिन मध्ये खुर्सानी नसरेको ठाउँमा अदुवा र बेसार खेती गरेको उनको भनाइ छ ।

एकपटक हुर्किएको खुर्सानीको बोटबाट ३ वर्षसम्म राम्रो आम्दानी लिन सक्ने किसान भट्टले जानकारी दिए । अकबरे खुर्सानी फल्न थालेपछि बारी लटरम्म फल्न थालेको उनले बताए । “बारीमा पस्दा राता हरिया खुर्सानी लटरम्म फलेको देख्दा मन पनि आनन्द हुन्छ”, किसान भट्टले भने, “खुर्सानी बेचेर आम्दानीसमेत राम्रो हुन थालेको छ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति