इजिप्टमा ४५ सय वर्ष पुरानो ‘सूर्य मन्दिर’ भेटियो

पुरातत्वविदहरूले इजिप्टमा एउटा मन्दिर फेला पारेका छन् जुन ४५ सय वर्ष पुरानो भएको अनुमान छ। सिएनएनका अनुसार खोजकर्ताहरूको टोलीले यो मन्दिरका अवशेषहरू कायरोभन्दा १२ माइल पर रहेको अर्को मन्दिरमुनि फेला पारेका हुन्।

यो खोज मिसामिलानो नुज्जुलोको नेतृत्वमा भएको हो। सन् १८९८ मा केही पुरातत्वविदहरूले न्युसेरा राजाले बनाएको सूर्य मन्दिर फेला पारेका थिए। न्युसेराले इजिप्टमा इसापूर्व २४०० देखि २३७० सम्म शासन गरेका थिए।त्यही मन्दिरमुनि अर्को मन्दिर पनि रहेको अहिले पत्ता लागेको हो। त्यसैले अध्येताहरूले एक मन्दिरमाथि अर्को मन्दिर बनेको अनुमान गरेका छन्।

उनीहरूले फेला पारेका अवशेषहरूमा राजा न्युसेराभन्दा अगाडि शासन गरेका राजाहरूको नाम पनि देखिएको सिएनएनले जनाएको छ।ऐतिहासिक प्रमाणहरूले त्यस क्षेत्रमा ६ वटा यस्ता सूर्य मन्दिर बनेको देखाएका छन्। तीमध्ये अहिलेसम्म दुइटा उत्खनन गरिएको अध्येता नुज्जुलोले बताएका सिएनएन लेख्छ।यी उत्खननबाट यस्ता सूर्य मन्दिरहरू अबु घरब क्षेत्र वरिपरि निर्माण भएको देखिन्छ।

न्युसेरा राजाको सूर्य मन्दिरको बनावट हेर्दा त्यसको संरचना माटोका इँटाले बनेको भवनसँग मेल खान्छ। तर यसको आकार ठूलो र यसमा माटोको सट्टा ढुंगाको इँटा प्रयोग गरिएको नुज्जुलोले बताउँछन्।उनका अनुसार ढुंगाको प्रयोग राजा न्युसेराको पालामा भएको होइन। किनभने इजिप्टका राजाहरूले ढुंगाको इँटाबाट मन्दिर बनाएको प्रमाण फेला परेको छैन। त्यसैले यो मन्दिर पछि पुनर्निर्माण क्रममा ढुंगाको इँटा हालिएको हुन सक्ने अनुमान गरिएको छ।

अध्येताहरूको टोलीले यो क्षेत्रमा यस्तै अरू मन्दिर फेला पर्ने विश्वास राखेका छन्। यी मन्दिरका संरचना र सामग्रीहरूको अध्ययनबाट त्यो बेलाका मान्छेहरूको जीवनशैलीबारे जानकारी मिल्ने सम्भावना धेरै भएको नुज्जुलोले बताएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति