सर्वोच्चमा आन्दोलनरत पाँच न्यायाधीशको विद्रोह

काठमाडौं, २९ कार्तिक । सर्वोच्च अदालतमा आन्दोलित पाँच न्यायाधीशले (विद्रोह) गरेका छन्। करिब चार सातादेखि जारी आन्दोलनमा सहभागी १९ मध्ये ५ जनाले सर्वोच्चका न्यायाधीश तथा नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनको संयुक्त बैठक बहिष्कार गरेका हुन्। उनीहरु अहिले सर्वोच्चकै एनेक्स भवनमा जारी तीन पक्षको बैठकमा सहभागी भएका छैनन्।

तर सर्वोच्चका वरिष्ठ न्यायाधीशहरु हरिकृष्ण कार्की, दीपक कार्की र सपना प्रधान मल्लसहित १४ न्यायाधीश भने बैठकमा सहभागी छन्।उक्त बैठक बहिष्कार गर्ने न्यायाधीशहरूमा न्यायाधीश तेजबहादुर केसी, कुमार चुँडाल, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्मा रहेका छन्। न्यायाधीश शर्मा यसअघि आन्दोलित न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ताका लागि गठित तीन सदस्यीय समितिका सदस्य थिए।

प्रधानन्यायाधीश जबराले सोमबार दुवै बारलाई वार्तामा बोलाएका थिए। तर नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबरासँग वार्तामा नबस्ने बताउँदै पदबाट राजीनामा दिन भनेका थिए। जबराले वार्तामा बोलाएपछि आन्दोलित न्यायाधीशहरु र दुवै बारका पदाधिकारीबीचको बैठकले थप रणनीति बनाउने भएको छ।चार सातादेखि आफूविरुद्ध जारी आन्दोलन थामिने नदेखेपछि जबराले सोमबार दुवै वारलाई आन्दोलन छाडेर संवादमा आउन भनेका थिए।जबराले २ पृष्ठ लामो विज्ञप्तिमा सर्वोच्चसहित अदालतहरूमा गोलाप्रथा प्रणाली लागु गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए। यस्तोमा नेपाल बारका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले गरेको वार्ता प्रस्तावलाई ठाडै अस्वीकार गरिदिएका थिए।

न्यायाधीशहरूले बार एशोसियसनसँग अबको कदमबारे आयोजना गरेको छलफलमा पाँचजना न्यायाधीश सहभागी नभएपछि सर्वोच्चका न्यायाधीशहरूमा प्रष्ट विभाजन देखिएको हो ।

न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडाल बारसँगको छलफलमा सहभागी भएनन् । त्यस्तै अन्य ६ जना न्यायाधीश पनि अन्तहीन रूपमा इजलास बहिष्कार गर्ने कुराको विपक्षमा छन् ।

उनीहरू पनि अब सम्भवतः नियमित मुद्दाको सुनुवाइ गर्न इजलासमा फर्किने सर्वोच्च स्रोतले जनाएको छ । त्यो भएको अवस्थामा विद्रोही समूह अल्पमतमा पर्नेछ ।

इजलासमा बसेर नियमित मुद्दा हेर्नुपर्ने अडान राखेरै उनीहरू ६ जना अन्य न्यायाधीशहरूसँग छलफलमा छन् । तर, उनीहरू प्रधानन्यायाधीशसँग पनि संवादमै रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति